२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु



  • आफ्नै खबर
  • २८ जेठ २०८१ सोमबार (११ महिना अघि)
  • पाठक संख्या ६८
  • लमजुङ/  मध्य–मर्स्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्यूत उत्पादन गर्न थालेको छ । नदीमा पर्याप्त पानी भएसँगै बेंसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन थालेको हो । 

    हिउँदयाममा मर्स्याङ्दी नदीमा पानी घट्दा उत्पादन पनि घटेको थियो । पुनः ३ दिन अघिदेखि ७० मेगावाट नै उत्पादन हुन थालेको विद्युत उत्पादन केन्द्रका प्रमुख पवन बस्नेतले जानकारी दिनुभयो । 

    उहाँका अनुसार गत मङ्सिरदेखि विद्यूत उत्पादन घटेर फागुनमा २४ मेगावाट मात्र उत्पादन भएको थियो । चैत लागेपछि विस्तारै उत्पादन वृद्धि भइ ४०/४५ मेगावाट पुगेको थियो । १ हप्ता अघिदेखि ६० मेगावाट हुँदै हाल पूर्ण क्षमतामा उत्पादन भएको हो । यस जलविद्युत् आयोजनामा ३५/३५ मेगावाट क्षमताका २ वटा टर्बाइन छन् । यो आयोजना सन् २००० मा निर्माण सुरु भई २००८ मा सम्पन्न भएको थियो । 

    २७ अर्ब २० करोड रुपैयाँको लागतमा निर्मित आयोजना जिल्लाकै पहिलो विद्युत आयोजनासमेत हो । जिल्लाभित्रै उत्पादन थालेको ५४ मेगावाटको सुपरदोर्दी ‘ख’, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’, ३० मेगावाटको न्यादी, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, २५, १२.१ र ५ मेगावाटको सिउरी, ४.४ मेगावाटको राँधी, ३ मेगावाटको मिदिम करापु र २ मेगावाटको छ्याङ्दी आयोजनालेसमेत विद्युत उत्पादन गरिरहेका छन् । 

    जिल्लामा बर्सेनि मर्स्याङ्दी नदी, दोर्दी, किसेदी, मिदिम खोलालगायतका खोलामा पानीको बहाव कम हुँदा उत्पादन घट्ने र पानी पर्याप्त भएपछि पूर्ण क्षमतामा विद्युत उत्पादन हुने गरेको छ ।

    रासस