२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

नागीमा मह बेचेरै झण्डै डेढ करोड भित्रियो



  • आफ्नै खबर
  • २८ जेठ २०८१ सोमबार (११ महिना अघि)
  • पाठक संख्या १२२
  • भोजपुर/  भोजपुरको नागी क्षेत्रका किसानको लागि मह राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक मौरीपालनबाट उत्पादन भएको महबाट यो गाउँमा १ वर्षमा १ करोड २० लाख रुपैयाँ भित्रिएको छ । 

    टेम्केमैयुङ–४ मा पर्ने यो स्थानका अधिकांश किसानले व्यावसायिक रुपमा मौरीपालन गरिरहेका छन् । नजिकै प्रशस्त वन क्षेत्र रहेकोले यहाँका हुँगे, चोक्ला, वाकताङ लुङ्गिनलगायतका स्थानमा मौरीपालन हुने गरेको छ । 

    मह आम्दानीको राम्रो स्रोत बनेको स्थानीय मौरीपालक किसान सारुहाङ राईले बताउनुभयो । आफूले पालेको १८ वटा आधुनिक घारमा एक पटकमा १ सय केजीसम्म उत्पादन हुने उहाँको भनाई छ । १ वर्षमा २ देखि ३ पटकसम्म मह काढ्न सकिने उहाँले जानकारी दिनुभयो । स्थानीय बजारमा मह प्रतिकेजी १ हजार ५ सय रुपैयाँमा बिक्री हुने गरेको छ ।

    ‘मह नागी क्षेत्रका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ’, उहाँले भन्नुभयो, ‘मौरीबाट थोरै मेहनतमा राम्रो आम्दानी लिन सकिन्छ । हाम्रो क्षेत्रका ५० भन्दा वढी घरले व्यावसायिक रुपमा मौरीपालन गरिरहेका छौँ ।’

    नागी क्षेत्रबाट १ वर्षमा १ करोड २० लाख रुपैयाँभन्दा बढीको मह उत्पादन हुने वडाध्यक्ष हर्कराज राईले बताउनुभयो । यो क्षेत्र प्राकृतिक हिसाबले मौरीको लागि उपयुक्त रहेको उहाँको भनाइ छ । भौगोलिक रुपमा अलि बढी चिसो क्षेत्र रहेकाले हिउँदको समयमा पनि मौरीपालनमा सहजता पुर्याउने लक्ष्यले आधुनिक माटेघार वितरण गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    व्यावसायिक मौरीपालनमा लागेका किसानलाई थप प्रोत्साहन गर्न गाउँपालिका र वडासँगको सहकार्यमा करिब ७ लाख ७० हजार रुपैयाँ बराबरको २ सय आधुनिक माटेघार वितरण

    मौरीपालनलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन वडाले भूमिका खेलिरहेको वडाध्यक्ष राईको भनाई छ । उहाँले भन्नुभयो, ‘अहिले हामीले आधुनिक माटेघार वितरणमा जोड दिएको छौँ । न्यानो हुने भएकाले माटेघारमा मौरीपालन गर्दा हिउँद समयमा मौरीलाई बचाउन सकिन्छ ।’

    व्यावसायिक मौरीपालनमा लागेका किसानलाई थप प्रोत्साहन गर्न गाउँपालिका र वडासँगको सहकार्यमा करिब ७ लाख ७० हजार रुपैयाँ बराबरको २ सय आधुनिक माटेघार वितरण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिनुभयो । गाउँपालिकाले मौरीपालनमा लाग्ने किसानलाई आवश्यक सहयोग गरिरहेको उहाँको भनाइ छ ।
    ‘मौरीपालनमा लागेका किसानलाई गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको छ’, प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो, ‘यो वर्ष करिब ७ लाख ७० हजार रुपैयाँ बराबरको आनुधिक घार वितरण गरेका छौँ । यसले किसानमा थप उत्साह थपिएको छ ।’

    पराम्परागत रुपमा मौरीपालन गर्दै आएको अवस्थामा गाउँपालिकाले आनुधिक प्रविधिको घार वितरणले उत्साह थपिएको स्थानीय मौरीपालक किसान शुक्रराज राईले बताउनुभयो । परम्परागत घारको तुलनामा आधुनिक घारमा मह बढी उत्पादन हुने उहाँको भनाइ छ । आधुनिक घारमा मह काढ्नसमेत सहजता हुने उहाँले बताउनुभयो । 

    स्थानीय मुढेघारको तुलनामा आधुनिक घारमा दोब्बर मह उत्पादन हुने किसान राईले जानकारी दिनुभयो । ‘हामीलाई मौरीपालनमा उत्साह थप्न गाउँपालिकाले आधुनिक घार दिएको छ’, उहाँले भन्नुभयो, ‘आफ्नै लगानीमा मौरीपालन गरिरहेको अवस्थामा गाउँपालिकाको तर्फबाट सहयोग पाउँदा खुसी लागेको छ ।’ 

    गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । किसानलाई व्यावसायिक बनाउन उनीहरुको आवश्यकताका आधारमा सहयोग तथा अनुदानका कार्यक्रम सञ्चालन भईरहेको उहाँको भनाइ छ । 

    नागी क्षेत्र मौरीको लागि उपयुक्त रहेकाले कार्यपालिकाको निर्णयअनुसार यहाँ आधुनिक घार वितरण गरिएको उपाध्यक्ष राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँको कृषिको सम्भावनालाई खोजी गरेर आवश्यक सहयोगका कार्यक्रम सञ्चालन भईरहेका छन् । कृषिबाट पनि किसानको आयस्तर बढाउने हाम्रो लक्ष्य छ ।’

    रासस