१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

हात्तीलेटका बासिन्दालाई अब मध्यरातमा डोल र गाग्री बोकेर इनारतिर जानु पर्दैन



  • आफ्नै खबर
  • २९ जेठ २०८१ मंगलबार (६ महिना अघि)
  • पाठक संख्या ८९
  • महोत्तरी/  बर्दिवास नगरपालिका–८ हात्तीलेटका बासिन्दाले खानेपानीको सङ्कट झेल्नु नपर्ने भएको छ । त्यहाँ खानेपानी सङ्कलन गर्न ट्याङ्की निर्माण सम्पन्न भई पानी वितरणका लागि पाइप ओछ्याइन थालिएपछि यहाँका बासिन्दामा खानेपानीको सङ्कट समाधान हुन लागेको हो । 

    बस्तीमा सरकारको तराई मधेस खानेपानी योजनाअन्तर्गत १ करोड ५० लाख रुपैयाँको अनुदान सहयोगमा ‘ओभरहेड ट्याङ्की’ निर्माण भएको छ । ‘अब खानेपानी पाइने आशा जागेको छ’, हात्तीलेटको सतखोली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरि रानाले भन्नुभयो, ‘अब खानेपानीका लागि सङ्कट झेल्नु पर्दैन ।’ 

    योजनाको ओभरहेड, कार्यालय भवन, चौतर्फी पर्खाल र बोरिङ जडानलगायतका काम सम्पन्न भएपछि अहिले धमाधम पाइप ओछ्याउने र धारा जडानको काम थालिएको अध्यक्ष रानाले बताउनुभयो । पाइप ओछ्याउने र धारा जडानसहितका काममा मधेस सरकार र बर्दिबास नगरपालिकाको साथ संस्थाले पाएको छ ।

    योजनाको ५ सय घरमा धारा पुर्याउने लक्ष्य छ । यसअनुसार अघि बढेको काममा अब आउने असार दोस्रो साताभित्रै ३ सय ५० घरका धारामा पानी झर्ने संस्थाले जनाएको छ ।

    योजनाअन्तर्गत ४ किलोमिटरभन्दा बढी पाइप ओछ्याइसकिएको रानाले जानकारी दिनुभयो । अहिले धारा जडानको काम धमाधम भइरहेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म ५ सय घरमै धारा जडान र पानी आपूर्ति गरिने लक्ष्यका साथ काम भइरहेको अध्यक्ष रानाले बताउनुभयो ।

    नगरक्षेत्रमा खानेपानीको सङ्कट झेल्नुपरेका बेला हात्तीलेटको कामले अन्य ठाउँका लागि सिकाइ हुने बर्दिवास नगरप्रमुख प्रल्हदकुमार क्षेत्री बताउनुहुन्छ । ‘हामी नगरक्षेत्रका घरघरै धारा जडान गर्ने अभियानमा छौँ, ‘एक घर एक धारा’ हाम्रो अभियानको नारा हो’, नगरप्रमुख क्षेत्री भन्नुहुन्छ, ‘सबै नगरवासीले स्वच्छ खानेपानी सहज रूपमा पाउने व्यवस्थाका लागि हामी प्रतिबद्ध भएर काममा लागेका छौँ ।’

    जिल्लामा पानीका स्रोत धमाधम सुक्दैछन् । यसरी जमिनमुनिको पानीको सतह गहिरिँदै जाँदा कैयन इनार र बोरिङ एकपछि अर्को सुक्दै जाँदा पछिल्लो दशकमा हात्तीलेटवासीले खानेपानी जुटाउन निकै सास्ती व्यहोर्दै आएका छन् । यो अभावका बीच ५० घनमिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माणले हात्तीलेटवासीमा पानीको सङ्कट टर्ने नयाँ आशा पलाएको बर्दिबास–८ का वडाध्यक्ष शमशेरसिंह लामा बताउनुहुन्छ ।

    पानीका लागि ६०–७० फिट गहिरो इनारबाट पालो पर्खेर पानी तान्नुपरेको विद्यमान दुःख अन्त्य हुने जनाइएको छ । योजनाबाट २ हजारभन्दा बढी यहाँका बासिन्दा लाभान्वित हुने सतखोली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था हात्तीलेटले जनाएको छ ।

    रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?