१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

सहरका विद्यार्थीका दुःख : खेलमैदान नभएपछि कक्षाकोठाभित्रै घुम्छ फुटबल



  • मधु शाही
  • २९ जेठ २०८१ मंगलबार (६ महिना अघि)
  • पाठक संख्या १०८
  • काठमाडौँ/  विद्यालयको घडीमा बिहानको १० बजेपछि टिनिनी घन्टी बज्छ । बालबालिका विद्यालय बाहिरै गर्नुपर्ने प्रार्थना पनि नगरी कक्षा कोठाभित्र छिर्छन् । कक्षाकोठामा बेञ्चमै उभिएर गाउँछन् उनीहरुले राष्ट्रिय गान पनि । त्यसपछि पढाई सुरु भइहाल्छ । विद्यालय परिसरमा प्राथना गर्ने ठाउँ छैन, न त खेलमैदान नै छ । 

    काठमाडौँ महानगरपालिका–१० मा पर्ने बुद्धनगर आधारभूत विद्यालयका बालबालिकाको दैनिकी हो यो । विद्यालयमा पठनपाठनसहित अतिरिक्त क्रियाकलापहरु गर्नुपर्नेमा उनीहरुसँग खेलमैदान भने छैन । विद्यालयमा उनीहरु खेल्ने सामग्री र खेलौना त थुप्रै छन् तर खेल मैदानको अभावमा ‘स्टोर’मै थन्किएका छन् । 

    कक्षा ७ मा पढ्ने सुमनलाई भविष्यमा फुटबल खेलाडी बन्ने चाहना छ । लाग्छ, विद्यार्थीको चाहना र आकांक्षा पूरा गर्न सघाउने आधार भनेको विद्यालय हो । तर विद्यालयमा मैदान नै नभएपछि उनी कहाँ फुटबल खेल्ने अभ्यास गरुन् र आफ्नो  सपना पूरा गरुन् ? सुमन भन्छन्, ‘पढाई पनि राम्रै छ, यति मात्रै हो खेल्ने र कुद्ने ठाउँ छैन ।’ विद्यालयमा मैदानको अभावका कारण पर्याप्त मात्रामा खेल्न र सिक्न नपाएको उनको गुनासो छ । 

    ‘मेरो खुट्टाले अझै फुटबल छुन पाएको छैन’, उनी भन्छिन्, ‘स्कुलमा भलिबल, फुटबल पनि थन्किएका छन् तर खेल्न पाइदैन ।’

    खेल्न त मैदानमै मन थियो, तर कहिलेकाहीँ कक्षा कोठामै फुटबल भेटिन्छ । मैदान नहुँदा विद्यार्थीहरु कोठामै फुटबल खेल्न बाध्य छन् । विद्यालयको दुईतले भवन त छ, तर बालबालिका खेल्ने मैदान भने छैन । भलिबल, फुटबल या अन्य खेल खेल्ने कुरा त परै जाओस् अरु विद्यालयमा झैँ नियमित प्रार्थना गर्ने, पिटी (शारिरीक कसरत) गर्ने जस्ता क्रियाकलाप गर्ने ठाउँ पनि यहाँ छैन । उनीहरुका सबै क्रियाकलापहरु नै कक्षाकोठाभित्रै हुने गर्दछ । 

    कक्षा ५ की अन्जली तिवारीलाई पनि फुटबलमै मन छ । घरमा खेल्नका लागि अभिभावकले खासै महत्व दिँदैनन् । यता विद्यालयमा मैदान त छैन नै, कहिलेकाहीँ कक्षा कोठामै पुग्ने फुटबल पनि उनी छुन पाउँदिनन् । 

    स्कुलको ‘हाफ छुट्टी’मा उनी ढुङ्गा बटुलेर गट्टा खेल्ने, चुङ्गी खेल्ने गर्छिन् । हुन त स्टोरमा क्यारम्बोर्ड, ब्याडमिन्टनका सामग्री पनि छन् । तर पनि खेल्ने र सिक्ने वातावरण भने नभएको उनले सुनाइन् । ‘मेरो खुट्टाले अझै फुटबल छुन पाएको छैन’, उनी भन्छिन्, ‘स्कुलमा भलिबल, फुटबल पनि थन्किएका छन् तर खेल्न पाइदैन ।’ अन्जलीकी साथी आचल भण्डारीको गुनासो पनि उही छ । 

    ‘जुन विद्यालयमा प्रशस्त खेल मैदान छैन, त्यस्तो विद्यालयका बालबालिकालाई खुला मैदानमा खेल्ने अवसर मिलाउनु पर्छ’, उहाँले भन्नुभयो, ‘नभए, हाम्रा सहरमा पढ्ने बालबालिका कोठा पनि बन्द स्कुलमा पनि बन्द भएर बस्नु बाध्य हुन्छन् । यसले उनीहरुको सिर्जनात्मक क्षमता वृद्धि हुन सक्दैन ।’

    बुद्धनगर आधारभूत विद्यालयकी गणित शिक्षक शान्ता पराजुली स्थानकै अभावका कारण बालबालिकाको अतिरिक्त क्रियाकलाप अभ्यास गराउन समस्या भएको स्वीकार गर्नुहुन्छ । उहाँका अनुसार खेलौनाहरु स्टोरमै थन्किएका छन् । वडा कार्यालयमा खेल मैदान उपलब्ध गराउनु भनेर निवेदन दिएको समेत उहाँले जानकारी दिनुभयो । ‘खेल्दै र सिक्दै पढाउनुपर्ने बालबालिका ठाउँकै अभावले गर्दा खुम्चिएका छन्’, उहाँले भन्नुभयो, ‘वडा कार्यालयले छिट्टै नै खेल मैदानको व्यवस्थापन गर्ने भन्नुभएको छ ।’

    साँघुरो विद्यालयको रुपमा थापाथलीको गुजेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयले पनि समस्या भोग्दै आएको छ । विद्यालय १ रोपनी ३ आना, ३ दाम जग्गामा बनेको छ । यसमा पनि १२ आना जग्गा व्यक्तिले आफ्नो भएको भन्दै अदालतमा मुद्दा परेको छ । काँक्राको चिरो जस्तै बाँकी रहेको थोरै जग्गामा बालबालिका कोच्चिएर खेल्ने गर्दछन् । 

    साँघुरो ठाउँमा खेल्दा धेरैपटक अरु बालबालिकालाई बलले चोट लागेर दुर्घटना समेत भएको बालबालिका बताउँछन् । पर्खालबाट बल उछिट्टिएर बाटोमा पुग्दा पर्खालबाटै मान्छे आएपछि बल पाउला भन्दै पर्खिरहनुपर्ने अवस्था उनीहरुसँग छ । यहाँका विद्यार्थी राहुल राई बताउँछन्, ‘पर्खाल बाहिर बल जान्छ, कोही मान्छे आउलान् र बल दिन्छन् कि भन्दै कुरेर बस्छौँ ।’ 

    विवादमा परेको जग्गामा ढुङ्गा र इट्टा छन् । कहिलेकाहीँ बालबालिका त्यहीँ पुगेर ठोकिन्छन् र घाइते पनि हुने गरेका छन् । विवादित जग्गाका कारण मैदान सफा र व्यवस्थित बनाउन नसकेको गुजेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयकी प्रधानाध्यापक नीता पौडेलले बताउनुभयो । 

    काठमाडौँ महानगरपालिकाले बालमैत्री विद्यालय बनाउन, खेलकुद र अतिरिक्त क्रियाकलापमा बनाउन प्रोत्साहनस्वरुप योजनाहरु ल्याएको भए पनि विद्यालयको संरचना बालमैत्री नहुँदा पूर्ण रुपमा लागू गर्न नसकिएको उहाँको भनाई छ । 

    मध्यबानेश्वरस्थित रत्न राज्यलक्ष्मी उच्च माध्यमिक विद्यालयका विद्यार्थीले शिक्षक समक्ष खेल मैदानको अभाव भएको गुनासो गर्दै आएको पनि धेरै भयो । विद्यालयमा भएको एउटा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानाध्यापक र वडाध्यक्ष समक्ष खेल्ने मैदान उपलब्ध गराइदिनुपर्ने माग राखेका थिए । 

    कक्षा ९ की विद्यार्थी क्रिष्टिना खड्काले काठमाडौँ महानगरपालिका–१० का अध्यक्ष रामकुमार केसीसमक्ष खेलमैदान साँघुरो भएको र खेल्ने वातावरण मिलाइदिन अनुरोध गरेकी थिइन् । खड्काले सोमबार आफ्नै स्कुलको हलभित्र वडाध्यक्षलाई प्रश्न गरेकी हुन् । विद्यालयमा विद्यार्थीको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएकाले विद्यालयको खेल मैदान साँघुरो भएको हो । 

    २ हजारभन्दा बढी विद्यार्थी रहेको विद्यालयमा खुलेर खेल्ने मैदान साँघुरो हुँदै गएको विद्यालयका प्रधानाध्यापक रामाशिष यादवले स्वीकार गर्नुभयो । काठमाडौँ महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसीले विद्यार्थीलाई खेल्न जरुरी रहेको बताउँदै चाँडै खेलमैदानको बनाउने योजना रहेको सुनाउनुभयो । ‘काठमाडौँका अधिकांश विद्यालयमा खेलमैदानको अभाव छ’, उहाँले भन्नुभयो, ‘खेलबिनाको बालविकास हुन सक्दैन । हामीले खेलमैदान उपलब्ध गराउने योजनामा छौँ ।’ 

    सरकारको नीति सफल
    स्थानीय तहदेखि सङ्घीय शिक्षा नीतिसम्म बालमैत्री विद्यालय हुन खेलकुद मैदानको अवस्था र जग्गा (रोपनी वा विगाहमा) अनिवार्य हुनुपर्ने उल्लेख छ । काठमाडाँै महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ मा पनि विद्यालयका अनिवार्य पूर्वाधार शर्तमा खेलकुद मैदान अनिवार्य हुनुपर्ने बताइएको छ ।  

    खेलकुद र त्यसलाई आवश्यक पर्ने पूर्वाधारसहितको ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ भन्ने नाराका साथ शिक्षाको गुणस्तर अभिवृद्धि गर्न महानगर गौरवको योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ । सङ्घीय र स्थानीय शिक्षा नीतिमा राखिएका बालमैत्री बुँदाहरुमध्ये खेलमैदान व्यवस्थापन गर्न चुनौती नै थपिएको शिक्षकहरु बताउनुहुन्छ । 

    काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्थानीय तहमा निर्वाचन भएको वर्षदेखि नै विद्यालयलाई बालमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । महानगरपालिकाको २०८०/८१ नीति तथा कार्यक्रममा नै हेर्ने हो भने पनि खेलकुदमा विद्यार्थीलाई जोड दिइएको छ ।

    गुजेश्वरी विद्यालयकी प्रधानाध्यापक नीति पौडेलका अनुसार बालमैत्री विद्यालय बनाउन बजेट आएको भए पनि भौतिक संरचनाको जटिलताका कारण व्यवस्थापन गर्न सकिएको छैन ।

    नीति तथा कार्यक्रममा शिक्षा नीतितर्फ महानगरपालिकाले भनेको छ, ‘सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने क्षमताको विकास गर्न आधारभूत प्राविधिक ज्ञान र सीपका साथै तन्दुरुस्त जीवनका लागि खेलकुद र त्यसलाई आवश्यकपर्ने पूर्वाधारसहितको गरी खाने शिक्षा, महानगरको इच्छा भन्ने नाराका साथ शिक्षाको गुणस्तर अभिवृद्धि गर्न महानगर गौरवको योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ ।’

    गुजेश्वरी विद्यालयकी प्रधानाध्यापक नीति पौडेलका अनुसार बालमैत्री विद्यालय बनाउन बजेट आएको भए पनि भौतिक संरचनाको जटिलताका कारण व्यवस्थापन गर्न सकिएको छैन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका शाखा अधिकृत उषा लामिछानेका अनुसार बालबालिकाको व्यक्तित्व विकासका लागि अनिवार्य खेलकुद हुनुपर्छ । शैक्षिक पाठ्यक्रममा नै कक्षा १ देखि योग सिकाउने भनिएकोछ । 

    विद्यार्थी अधिकांश समय विद्यालयमै बिताउने हुँदा उनीहरुको शारीरिक स्वास्थ्यको लागि खेलकुद अतिआवश्यक रहेको उहाँले बताउनुभयो । कक्षा १ देखि नै योगका तीन आशन जस्तै, सब आसन, सुखासन र शिशु आसन सिकाउने शैक्षिक पाठ्यक्रममा उल्लेख भए पनि विद्यालयमा पूर्णरुपमा लागू नभएको उहाँले सुनाउनुभयो । 

    शिक्षाविद् विद्यानाथ कोइरालाले अतिरिक्त क्रियाकलापबिना बालबालिकाको शारिरीक र मानसिक वृद्धिमा असर पर्ने बताउनु भयो । शिक्षा नीतिको आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्नु नीतिगत समस्या शहरीकरणको समस्या भएको उहाँको भनाई छ । ‘जुन विद्यालयमा प्रशस्त खेल मैदान छैन, त्यस्तो विद्यालयका बालबालिकालाई खुला मैदानमा खेल्ने अवसर मिलाउनु पर्छ’, उहाँले भन्नुभयो, ‘नभए, हाम्रा सहरमा पढ्ने बालबालिका कोठा पनि बन्द स्कुलमा पनि बन्द भएर बस्नु बाध्य हुन्छन् । यसले उनीहरुको सिर्जनात्मक क्षमता वृद्धि हुन सक्दैन ।’

    रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?