धनुषा/ धनुषामा उत्पादित कटहर भारतीय बजारमा लोकप्रिय हुँदैगएको छ । विगतमा यातायातको सुविधा नभएका कारण नेपाली बजारमा मात्र बिक्री हुने कटहर अहिले भारतीय बजारमा बिक्रवितरण भइरहेको छ ।
जसबाट ग्रामीण क्षेत्रका युवाले आर्थिक लाभ लिन थालेका छन् । नेपाली कटहर स्वादिलो तथा पुष्ट रहेकाले भारतीय भारतीय बजारमा यसको माग बढ्दै गएको स्थानीयले बताएका छन् ।
सीमावर्ती बजार हरिनेका कटहर व्यवसायी श्यामशङ्कर कामतले नेपाली कटहरको भारतीय बजारमा माग बढिरहेको बताउनुभयो । वैशाखदेखि भदौ महिनासम्म कटहरको राम्रो व्यवसाय हुने गरेकोले यस व्यवसायमा आफूजस्तै विभिन्न स्थानका करिब ५ सय युवा संलग्न रहेको उहाँले बताउनुभयो ।
धनुषा जिल्लामा ४ सय २८ हेक्टर जमिनमा कटहर खेती हुने गरेको तथा यसपटक ४ हजार ४ सय ६७ मेट्रिकटन कटहर फलेको कृषि ज्ञान केन्द्र धनुषाका बागबानी विकास अधिकृत प्रदीप यादवले जानकारी दिनुभयो । यसको तरकारी, आचार तथा पाकेपछि फलका रुपमा समेत खाने गरिएको छ ।
प्रति हेक्टर २० देखि २५ मेट्रिकटनसम्म कटहर उत्पादन हुने गरेको धनुषा जिल्लामा यसवर्ष राम्रो उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ । खासगरी धनुषाको उत्तरीक्षेत्र ढल्केवर, महेन्द्रनगर, पोर्ताहा, धारापानी, लालगढ र वयलवास लगायतका ग्रामीण क्षेत्रमा कटहरको उत्पादन अर्थात खेती हुने गरेकोले त्यहीबाट कटहर किनेर भारतीय बजारमा बिक्री गरेको व्यापारी राहुल साहले बताउनुभयो ।
बेरोजगार भई बसेका युवाले कटहर बेचेर राम्रो आम्दानी गर्न थालेपछि यस व्यवसाय तर्फ अन्य युवा पनि आकर्षित भई आर्थिक लाभ लिँदै आइरहेका छन् । अहिले यहाँका युवा साइकलमा कटहर राखेर सीमावर्ती भारतीय बजार जयनगर, उमगावँ, बासोपटी, हरिने, हरलाखी, मधुवनी, मधवापुर र भिठ्ठामोड जस्ता बजारसम्म लगेर बिक्रीवितरण गरी मुनाफा गरिरहेका छन् । धनुषाका गाउँगाउँबाट कटहर किनेर बिक्री गर्न जाँदा भारती सुरक्षाकर्मीले भने अवरोध गरिरहेको कटहर कारोबारीहरुको गुनासो छ ।
कटहरको व्यावसायिक रुपमा बिक्रीवितरण बढ्दै गएकाले कटहर खेतीका लागि प्रदेश तथा स्थानीय सरकारले पकेट क्षेत्र घोषणा गरी विशेष कार्यक्रम ल्याउनुपर्ने किसानको माग छ ।
रासस
प्रतिक्रिया दिनुहोस