२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

एउटै पालिकामा भित्रन्छ करिब १२ अर्ब रेमिटेन्स



  • आफ्नै खबर
  • ३० जेठ २०८१ बुधबार (११ महिना अघि)
  • पाठक संख्या १४८
  • चितवन/  भरतपुर महानगरपालिकामा वार्षिक ११ अर्ब ९६ करोड ९१ लाख भन्दा बढी रेमिटेन्स भित्रने गरेको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले सार्वजनिक गरेको तथ्याङ्कअनुसार उक्त रकम भरतपुरबाट वैदेशिक रोजगारमा रहेका ३० हजार ५ सय ५५ जनाबाट भित्रिएको रेमिटेन्स रकम हो ।

    सामी कार्यक्रम हेल्भेटास (नेपाल सरकारको सहकार्यमा काम गरिरहेको संस्था)की संयोजक उमा पौडेलका अनुसार १ व्यक्तिले औषतमा मासिक ३२ हजार ६ सय ४३ रुपैयाँ रेमिटेन्स पठाइरहेका छन् । आएको रकममध्ये ७३ प्रतिशत ऋण तिर्न, घरखर्च, खाद्यान्न, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा खर्च गरेको पाइएको उहाँले बताउनुभयो ।  

    वैदेशिक रोजगारमा रहेका ३० हजार ५ सय ५५ जनाका २९ हजार १ सय ७७ परिवारले एक वर्षमा करिब १२ अर्ब रुपैयाँ रेमिटेन्स प्राप्त गर्ने गरेका संयोजक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार १३ प्रतिशतले बचत, ६ प्रतिशतले जिन्सी सम्पत्ति जोड्ने, ४ प्रतिशतले जग्गा खरिद, ३ प्रतिशतले ऋण लगानी र १ प्रतिशतले मात्र व्यवसाय सञ्चालन गरेको पाइएको छ । 

    विदशेबाट फर्केर आएका २ हजार २ सय ७२ विभिन्न आयमूलक क्षेत्रमा रहेका भन्दै ८ हजार ९ सय ५९ जनाले केही नगरी बसेको पाइएको जानकारी संयोजक पौडेलले दिनुुभयो । १ हजार ७४ जनाले स्थानीयस्तरमा आयआर्जनसम्बन्धी विभिन्न योजना बनाएको उहाँले बताउनुभयो ।  

    विदेशबाट फर्केर यहाँ आएका व्यक्तिमध्ये ३ हजार ३ सय ५८ जनाले कुनै न कुनै सीप लिएर फर्केको  पौडेलको भनाई छ । सीप भएका तर प्रमाणपत्र नभएका व्यक्तिको सङ्ख्या पनि उल्लेख्य रहेको भन्दै उहाँले रोजगारमा रहेका कामदारमध्ये ३३ दशमलव ६१ प्रतिशतले मात्रै सीप सिकेर गएको उल्लेख गर्नुभयो । उहाँले ५५ प्रतिशतले आवश्यक सूचना तथा परामर्शसमेत लिएर विदेश गएकोे जानकारी दिनुभयो ।   भरतपुरका झण्डै ३५ हजार घरका सदस्य वैदेशिक रोजगारीमा रहेका छन् ।

    रासस