२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

बेमौसमी सिमीले तरकारीको समस्या हटायो



  • आफ्नै खबर
  • १ असार २०८१ शुक्रबार (११ महिना अघि)
  • पाठक संख्या ९०
  • मुगु/  सोरु गाउँपालिका–८ कच्चे गाउँका मदुकला कार्कीलाई आजभोलि घर परिवारका लागि खानासँगै तिउन तरकारी के बनाउने भन्ने चिन्ताले छोडेको छ । कच्चेकी अर्की गृहिणी नन्दादेवी बुढा १ वर्षअघिका दिन सम्झँदै भन्नुहुन्छ ‘बिहान बेलुका खाना बनाउन लाग्दा के तिउन, तरकारी बनाउने भनेर सधैँ लाग्ने चिन्ता टरेको छ ।’

    उहाँहरुमा  मात्र होइन यस वर्षको जेठ, असारमा कच्चे गाउँका सबै घरधुरीका गृहिणीलाई भात, रोटीसँगै खान तरकारी र दालको झर्को टरेको छ । कच्चे गाउँका चक्रबहादुर कार्की विगत वर्षहरुमा असारमा सिमी, मास तथा अन्य गेँडागुडी लगाएर कात्तिकमा पाक्ने र टिप्ने गर्थे । उहाँले वर्षमा एकचोटि मात्र हुने दलहन बालीबाट उत्पादित दाल ५ महिना मात्र पुग्थ्यो त्यसपछिका वैशाख, जेठ, असार महिनामा के दाल बनाउने भनेर चिन्ता हुन्थ्यो । अब भने त्यो चिन्ता हटेको त्यहाँका गृहिणी वताउँछन् । 

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय गमगढी मुगुले यहाँका कृषकलाई बेमौसमी सिमी खेती गर्न सिकाइ यस वर्षबाट खेती गर्न सुरु गराएपछि बेमौसममा पनि सिमी उत्पादन भयो । जसले कच्चे गाउँका स्थानीयलाई दाल बनाउने झर्को टरेको हो ।

    यो गाउँका स्थानीयले फागुन महिनामा सिमी लगाएका थिए अहिले पाकेर सिमी निकाल्ने चटारोमा छन् । परियोजना कार्यान्वयन एकाइ कार्यालय मुगुका प्रमुख तेजविक्रम मल्लले भन्नुभयो, ‘वर्षौंदेखि वर्षमा एकचोटि मात्र सिमी खेती गर्दै आएका कच्चेवासीले सुरुमा बेमौसममा सिमी लगाउन सिकाउँदा विश्वास नै गरेका थिएनन् । जग्गा बिग्रने भयो, बीउ मर्ने भयो भनेर चिन्ता मान्ने गरेका थिए ।  हामीले सिमीको बीउसहित सिमी राख्ने भकारीसहित निःशुल्क तालिम दिएपछि बेमौसमी सिमीखेती लगाउन गाउँले राजी भएका हुन् ।’

    उहाँले भन्नुभयो, ‘हामीले गरेको योजनाअनुसार सिमी उत्पादन नभए के गर्ने, कृषकले के भन्लान् भन्ने चिन्ताका बीच सिमी खेती राम्रो र गुणात्मक उत्पादन भएपछि कृषक खुसी भएका छन् । वर्षमा २ चोटि सिमी उत्पादन हुने भएको छ । फागुनमा लगाएको सिमी जेठ र असारमा लगाएको सिमी कात्तिकमा टिप्ने भएका छन् ।’

    परियोजनाको प्राविधिक तथा आर्थिक सहयोगमा कच्चे जिउलाको चार हेक्टर जमिनमा कच्चे गाउँका ८० घरधुरिले सिमी खेती गरेका छन् । कृषकले राम्रो उत्पादन गरेर बिक्री गर्न चाहेमा कार्यालयले कृषकलाई बजारसम्म लैजान ढुवानी अनुदान दिने परियोजन प्रमुख मल्ल बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, ‘बेमौसमी सिमी उत्पादन भएपछि घरका महिला बढी लाभान्वित भएका छन् उनीहरुको कार्यबोझ र चिन्ता घटेको छ भने घरपरिवारले सुक्खा महिनामा पनि झोलिलो दाल खान पाएका छन् ।’ परियोजना कार्यान्वयन एकाइ मुगुको सहयोगमा  यस वर्ष मुगु जिल्लाका स्थानीयवासीले २५ हेक्टर जमिनमा बेमौसमी सिमी खेती गरेका छन् ।

    रासस