काठमाडौँ बीपी कोइराला मेमोरियल प्लाटेरियम, अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको आयोजनामा तीन दिने विज्ञान पत्रकारिता÷विज्ञान लेखन तालिम सुरू भएको छ ।
समितिको सभाहल कीर्तिपुरमा आयोजित तालिममा विज्ञान पत्रकारितामा क्रियाशील पत्रकार तथा पत्रकारितामा उच्च शिक्षा अध्ययनरत विद्यार्थीसहित देशभरका ७० जनाभन्दा बढीको सहभागिता रहेको समितिका कार्यकारी निर्देशक डा सनतकुमार शर्माले जानकारी दिनुभयो ।
तालिमको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (विज्ञान तथा प्रविधि) विश्वबाबु पुडासैनीले विज्ञान क्षेत्रमा भएका उपलब्धि, समस्या, सम्भावना र राज्यले गरिरहेका क्रियाकलापबारे समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीको क्षमता अभिवृद्धिमा तालिमले योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले समाजमा रहेका अन्धविश्वास र कुरितीबारेका धारणा बदल्न सबैभन्दा पहिले पत्रकार नै विज्ञानका आधारभूत मान्यताबारे जानकार हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले परिवर्तित समय सुहाउँदो ऐनका अभावमा नेपालको विज्ञान प्रविधि क्षेत्रले समस्या भोगिरहेकाले त्यसलाई सम्बोधन गर्न विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धमा व्यवस्था गर्न र व्यावहारिक विज्ञान प्रविधि तथा उद्योमोदय कोषसम्बन्धी दुई वटा विधेयक बनाउन लागिएको जानकारी दिँदै त्यसबारे राय तथा सुझावका लागि मन्त्रालयको वेभसाइटमा राखिएकाले प्रचारप्रसारका लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रा डा उदयराज खनालले नेपालमा विज्ञान प्रविधि क्षेत्रको विकास, विस्तार तथा उपलब्धिबारे पत्रकार जगत् जानकार बन्न आवश्यक रहेको बताउनुभयो । पत्रकार जागरुक र जानकार भएमा नेपालको विज्ञान क्षेत्रले थप उपलब्धि हासिल गर्नसक्ने तर्क गर्दै उहाँले यसले सरकारी अधिकारीमा थप जिम्मेवारी बोध र नागरिकमा विज्ञानप्रतिको विश्वाससमेत वृद्धि हुँदै जाने धारणा राख्नुभयो ।
समितिका कार्यकारी निर्देशक डा शर्माले आमरूपमा प्रचारप्रसार नभएसम्म विज्ञान अपूर्ण हुने सन्दर्भ उल्लेख गर्दै यसमा सञ्चार र सञ्चारकर्मीको भूमिका अपरिहार्य रहेकामा जोड दिनुभयो ।
तालिममा विज्ञान तथा प्रविधिका प्रभावबारे प्रचार गर्न मिडियाको भूमिका, विज्ञान पत्रकारिताका चुनौती र विज्ञान प्रविधिसम्बन्धी जानकारी सम्प्रेषणमा वैज्ञानिकको भूमिका, विज्ञान पत्रकारिताको महत्व, उत्तरदायित्व, नैतिक र व्यवसायीकस्तर सुधार, वेबमा आधारित विज्ञान सञ्चार र सञ्जाल, सामाजिक समावेशीकरणका लागि विज्ञान सञ्चार, पत्रकारको व्यावसायिक क्षमता विकासलगायत विषयमा विभिन्न विज्ञहरूले प्रशिक्षण दिनुहुनेछ ।
प्रतिक्रिया दिनुहोस