२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

कुरिलोखेतीबाट एकै याममा ७ लाख मुनाफा



  • आफ्नै खबर
  • ३ असार २०८१ आईतबार (११ महिना अघि)
  • पाठक संख्या ९३
  • नवलपरासी/  बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा ७ लाख रुपैयाँ मुनाफा आर्जन गर्नुभएको छ । मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा विगत ३ वर्षदेखि कुरिलोखेती गर्नुभएका मोक्तानले वार्षिक १६ लाख रुपैयाँसम्मको कुरिलो बेचर उक्त मुनाफा गर्नुभएको हो । 

    सबै खर्च कटाएर ७ लाख रुपैयाँ नाफा कमाएको उहाँले बताउनुभयो । हाल उहाँले ५० कठ्ठामा कुरिलोखेती गर्नुभएको छ । ‘यो कुरिलोको सिजन हो, टिप्ने, मुठा पार्ने र बजार पठाउने काममा व्यस्त भइन्छ’, उहाँले भन्नुभयो । दैनिक ८० देखि १ सय केजीसम्म कुरिलो उत्पादन हुने गरेको उहाँले बताउनुभयो । किसान मोक्तानले उत्पादन गरेको कुरिलो स्थानीय बजारका साथै नारायणगढ, पोखरा र काठमाडौँमा खपत हुने गरेको छ । 

    गत वर्ष ३० कठ्ठा क्षेत्रफलमा कुरिलोखेती गर्नुभएका मोक्तानले यस वर्ष २० कठ्ठा क्षेत्रफल थपेको बताउनुभयो । गत वर्षभन्दा यो वर्ष अधिक आम्दानी हुने उहाँ बताउनुहुन्छ । हाल कुरिलोको खुद्रा बजार मूल्य प्रतिकेजी ३ सय रुपैयाँ छ र थोकमा मूल्य २ सय ५० रुपैयाँ छ । 

    लोटस कृषि तथा पशु फार्म दर्ता गरी जग्गा भाडामा लिएर उहाँले तरकारीखेती गर्दै आउनुभएको छ । विगत ५ वर्षदेखि उहाँ व्यावसायिक खेतीमा लाग्नुभएको हो । उहाँको बारीमा कुरिलोसँगै घिरौला, भिण्डी, करेला, खरबुजा लटरम्म फेलका छन् । आफ्ना अन्य उत्पादनले भन्दा कुरिलोखेतीबाट अधिक आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ ।

    रासस