२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

पर्यावरणीय प्रभाव सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा हुने



  • आफ्नै खबर
  • ३ असार २०८१ आईतबार (११ महिना अघि)
  • पाठक संख्या १०६
  • चितवन/  विश्वका कृषि र प्रविधिसम्बन्धी विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान प्रसार निर्देशनालयले ‘कृषि व्यवसाय र प्रविधिमा पर्यावरणीय प्रभाव’ विषयक सम्मेलन असार ४ र ५ गते रामपुरमा गर्न लागेको हो ।

    निर्देशनालयका अनुसन्धान निर्देशक डा. ऋषिराम कट्टेलका अनुसार सम्मेलनमा नेपाल, भारत, अमेरिका, इन्डोनेसिया, चीन र अष्ट्रेलियाका विज्ञ, प्रध्यापक तथा विद्यार्थीहरुको सहभागिता रहनेछ । कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारी, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. पुण्यराज रेग्मी सहभागी हुनुहुनेछ । 

    त्यस्तै, योजना आयोगका शिक्षा हेर्नुहुने सदस्य डा. रमेशचन्द पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्री, नाष्टका सचिव डा. रवीन्द्र ढकाललगायत नेपालका कृषि क्षेत्रसँग सम्बन्धित विश्वविद्यालय र सङ्घसंस्थाका विज्ञ, प्राध्यापक र विद्यार्थीको उपस्थिति रहने निर्देशक डा. कट्टेलले बताउनुभयो । 

    भारतको महात्मागान्धी चित्रकुट विश्वविद्यालयका डिन डा. डिपी राई, आइसिएआर कानपुरका निर्देशक डा. सन्तकुमार दुवेलगायत भारतका विभिन्न विश्वविद्यालय र संस्थाबाट १ सय प्रतिनिधि सम्मेलनमा सहभागी हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अमेरिका, इन्डोनेसिया, चीन, अष्ट्रेलियाबाट समेत विषयविज्ञ, प्राध्यापक र विद्यार्थीहरु उपस्थित भएर कार्यपत्र प्रस्तुत गर्नाका साथै छलफल गर्नेछन् ।

    १ सयभन्दा बढी विभिन्न विषयका कार्यपत्र प्रस्तुतीकरण र समूहगत छलफल गरिने छ । कार्यक्रममा ३ सयजनाको सहभागिता रहने निर्देशनालयले जनाएको छ । कृषि विश्वविद्यालय स्थापनाको दिन पारेर भरतपुर भ्रमण वर्षको सन्दर्भमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्न लागिएको निर्देशनालयका अनुसन्धान निर्देशक डा. कट्टेलले जानकारी दिनुभयो । 

    कार्यक्रममा कृषि व्यवसाय र प्रविधिमा पर्यावरणीय प्रभावका विषयमा छलफल गरिने छ । कट्टेलका अनुसार विभिन्न देशका विज्ञहरुले एकापसमा ज्ञान र सीपको आदानप्रदान गर्नेछन् ।

    रासस