काठमाडौँ आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा सम्पन्न खेलमा नेपाल बङ्गलादेशसँग २१ रनले पराजित भएको हो ।
यस खेलसँगै विश्वपकमा समूह डि को समीकरण पूरा भएको छ । समूह डि बाट दक्षिण अफ्रिका र बङ्गलादेश विश्वकपको दोस्रो चरणमा प्रवेश गरेका छन् । ८ अङ्क बटुलेको दक्षिण अफ्रिका शीर्ष स्थानमा रहँदै सुपर आठमा पुगेको हो भने छ अङ्क बटुलेको बङ्गलादेश दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुगेको हो ।
यस समूहबाट नेपाल, नेदरल्यान्ड्स र श्रीलङ्का समूह चरणबाटै बाहिरिएका छन् । विश्वकपको यात्रा टुङ्गाएसँगै नेपाली टोलीका लेग स्पीन सन्दीप लामिछानेले भने टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको आफ्नो ५४ औँ खेलमा १ सय विकेट पुर्याउँदै विश्वको दोस्रो छरितो खेलाडीको नयाँ कीर्तिमानी बनाउन सफल भएका छन् ।
बङ्गलादेशविरुद्धको खेलमा उनले दुई विकेट लिएसँगै उनको सय विकेट पूरा भएको हो । जारी विश्वकपमा सन्दीपको योे दोस्रो खेल हो । यसअघि अमेरिकाले भिसा नदिएपछि सन्दीपले अमेरिकामा नै भएको नेदरल्यान्डस र श्रीलङ्काविद्धको खेल गुमाउन पुगेका थिए । यद्यपि नेपाल र श्रीलङ्काको खेल भने वर्षाका कारण रद्द भएको थियो ।
अफगानिस्तानका रासिद खानले ५३ खेलमा एक सय विकेट लिँदै टि ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा कम खेलेर एक सय विकेट लिने कीर्तिमान बनाएका थिए । आजको खेलमा बङ्गलादेशले जितका लागि दिएको एक सय सात रनको विजयी लक्ष्य पच्छाएको नेपाल १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमै समेटियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २७ रनको योगदान दिए । उनले ४० बलमा एक चौका र एक छक्काको सहायताले सर्वाधिक २७ रन बनाएका हुन् ।
त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ३१ बलमा दुई चौका र एक छक्काको मद्दतमा २५ रन बनाए । त्यस्तै आसिफ शेखले १४ बलमा चार चौका प्रहार गर्दै १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कका रन बनाउन सकेनन् । कुशल भुर्तेल चार रनमा आउट हुँदा रोहितकुमार पौडेल र सन्दीप जोरा समान एक एक रनमा आउट भए । अनिल शाह, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनाश बोहोरा शून्यमा आउट भए ।
नेपाललाई सस्तैमा समेट्नेक्रममा बङ्गलादेशका लागि तान्जिम हसन सकिबले चार विकेट लिए भने, मुस्ताफिजुर रहमानले तीन विकेट झारे । त्यस्तै सकिब अल हसनले दुई र तस्किन अहमदले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बङ्गलादेशले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६ रनको योगफल बनाएको थियो । बङ्गलादेशका लागि सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रनको योगदान दिए । त्यस्तै रिशाद हसनले सात बलमा एक चौका र एक छक्कासहित १३ रन जोडे । महमुदूल्लाह रियादले १३ बलमा दुई चौकाको सहायताले समान १३ रन नै जोडे ।
यसैगरी तक्किन अहमद र जाकेर अलीले समान १२÷१२ रन जोडे भने लिटन दासले १० रन बनाए । तोव्हीद ह्रिदोयले ९, कप्तान नाज्मुल हसन सान्टाले ४ तथा तान्जिम हसन सकिब र मुस्तब फिजुर रहमानले समान ३÷३ रन बनाए । नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले समान दुई दुई विकेट लिएका थिए । यस खेलसँगै जितविहीन रहँदै नेपालले विश्वकपको यात्रा टुङ्गायो ।
प्रतिक्रिया दिनुहोस