पर्सा/ पर्सामा रहेको सशस्त्र प्रहरी बल नम्बर १३ गणले सानाठूला गरेर ४ सय सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गरेको छ । सशस्त्र प्रहरी बलले मुख्य, सहायक र साना गरी ४ सय ८९ वटा सीमास्तम्भमध्ये ३ सय ९९ वटा रङरोगन तथा मर्मतसम्भार गरेको हो ।
गणका गणपति राधेश्याम धिमालले नापी कार्यालयलगायत सम्बन्धित सरकारी निकायसँगको समन्वयमा सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भारको काम जारी रहेको बताउनुभयो । ‘पर्सामा २१ वटा मुख्य सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गर्नुपर्नेमा हालसम्म १९ वटाको काम भइसकेको छ’, उहाँले भन्नुभयो, ‘बाँकी २ सीमास्तम्भको पनि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर अघि बढाउनेछौँ ।’
प्रहरी बलले १३ वटा सहायक सीमास्तम्भको रङरोगन तथा मर्मतसम्भार गर्नुपर्नेमा हालसम्म १२ वटाको काम पूरा भएको छ । यसैगरी ४ सय ५५ वटा साना सीमास्तम्भको रङरोगन र मर्मतसम्भार गर्नुपर्नेमा हालसम्म ३ सय ६८ वटाको मर्मतसम्भार भइसकेको छ भने ८७ वटाको मात्रै रङरोगन र मर्मतसम्भार गर्न बाँकी छ । पर्सामा मुख्य, सहायक र साना गरी कुल ९० वटा सीमास्तम्भ मर्मतसम्भार गर्न बाँकी छ ।
रासस
प्रतिक्रिया दिनुहोस