१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

‘वैधानिक तवरले रेमिटेन्स भित्र्याउन र थप डिजिटाइजेसनका लागि सहकार्य आवश्यक’



  • आफ्नै खबर
  • ६ असार २०८१ बुधबार (५ महिना अघि)
  • पाठक संख्या ९७
  • काठमाडौं/  रेमिटेन्स आप्रवाहमा देखिएको सुधारलाई दिगो बनाउन वैधानिक तवरले रेमिटेन्स भित्र्याउने र रेमिटेन्सलाई थप डिजिटाइजेसनका लागि मिलेर काम गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल राष्ट्र बैंकको सहकार्यमा नेपाल मुद्रा विप्रेषक संघले आयोजना गरेको कार्यशालामा सरोकारवालाहरूले रेमिटेन्सबाट अर्थतन्त्रमा परेको सकारात्मक प्रभावलाई ध्यानमा राखेर रेमिटेन्स सेवाको सुधारमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन् ।

    काठमाडौंमा भएको कार्यशालामा कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले रेमिटेन्स आप्रवाह बढिरहेको र यसले अर्थतन्त्र सुधारमा महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो । वैधानिक तवरले रेमिटेन्स भित्र्याउन र रेमिटेन्सलाई डिजिटाइजेसनमा लैजान सबैले पहल गर्नुपर्ने र त्यसका लागि  राष्ट्र बैकंले नेपाल मुद्रा विप्रेषक सङ्घसँग मिलेर सहकार्य गर्न तयार रहेको उहाँले उल्लेख गर्नु भयो ।  

    राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरेले  रेमिटेन्स क्षेत्रका प्रतिस्पर्धी संस्थाहरूले एकआपसमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने र अनुमतिपत्र समयमै नवीकरण गराएर कारोबार नियमिततापूर्वक गर्न आग्रह गर्नुभयो । रेमिटेन्स क्षेत्रको विकास र सहजताका लागि राष्ट्र बैंक तयार रहेको पनि कार्यकारी निर्देशक घिमिरेले उल्लेख गर्नुभयो ।

    राष्ट्र बैंक, गैर-बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामबहादुर मानन्धरले राष्ट्र बैंकले निर्दिष्ट गरेका नियम कानुन र सर्कुलरको परिधिभित्र रहेर काम गर्न रेमिटेन्स कम्पनीहरूलाई सुझाव दिनुभयो । राष्ट्र बैंकको गैर-बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामबहादुर मानन्धरले पनि रेमिटेन्सको समसामयिक विषयमा रहेर आफ्ना भनाइहरू राख्नु भयो ।

    उक्त अवसरमा नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनले रेमिटेन्स कम्पनी र रेमिटेन्सको काम गर्ने बैंक तथा वित्तीय संस्थाहरूले स्वस्थ प्रतिस्पर्धा गरेमा रेमिटेन्समा वृद्धि हुनगई विदेशी मुद्रा सञ्चिति बढ्ने, रेमिटेन्स कम्पनी र रेमिटेन्सको काम गर्ने बैङ्क तथा वित्तीय संस्थाहरूको आम्दानीमा वृद्धि भई राजस्व योगदानमा समेत उल्लेखनीय वृद्धि हुने भएकाले यसमा सबैको ध्यान जान आवश्यक रहेको बताउनु भयो । उपाध्यक्ष रितेश मित्तल तथा महासचिव सञ्जय सिग्देलले पनि रेमिटेन्स सेवामा देखिएका समसामयिक विषयमा आ आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सुमन पोखरेलले रेमिटेन्सको वर्तमान अवस्था र रेमिटेन्स कम्पनी र नियामक निकायबाट गर्नुपर्ने सुधारका विषयमा धारणा व्यक्त गर्नुभयो ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?