२५ भदौ २०८२ बुधबार | 10 Sep 2025 Wed

करेसाबारी प्रवर्द्धन गर्न भद्रपुरका किसानलाई सहयोग



  • आफ्नै खबर
  • ६ असार २०८१ बिहिबार (१ बर्ष अघि)
  • पाठक संख्या ११९
  • झापा/  भद्रपुर नगरपालिकाले किसानलाई करेसाबारी तालिम दिएर कृषि सामग्री पनि वितरण गरेको छ । चालु आवमा सहरी क्षेत्र लक्ष्यित करेसाबारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत करेसाबारीमा तरकारी खेती विस्तार गर्न नगरपालिकाले किसानलाई सहयोग गरेको हो । 

    नमूना करेसाबारी प्रवर्द्धन कार्यक्रमका लागि कृषि विकास शाखामा नगरपालिकाको वडा नं ५, ६, ७, ८ र १० बाट सिफारिस भएर छनोटमा परेका नमूना किसानलाई लक्ष्यित गरिएको नगर प्रमुख गणेश पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुहिने फोहरलाई कम्पोष्ट मल बनाउन सके फोहरको सदुपयोग हुन्छ, तरकारी सप्रिनुका साथै वातावरण स्वच्छ राख्न मद्दत पुग्छ ।’ 

    नगर उपप्रमुख राधा कार्कीले करेसाबारीमा उत्पादन गरेका खानेकुरा ढुक्क भएर उपभोग गर्न सकिने भएकाले सबै नगरवासीलाई करेसाबारी खेतीमा लाग्न आग्रह गर्नुभभयो । उपप्रमुख कार्कीले भन्नभुयो, ‘हामीले चाहेका बखत उपभोग गर्न पाउने गरी पुदिना, धनियाँ, अकबरेलगायत बिरुवा  रोप्न सक्छौँ र सजिलोसँग उपभोग गर्न सक्छौँ । किनेर ल्याएको खानेकुरामा विषादी मिसिएको हुनसक्छ, त्यसैले कसेसाबारीको उत्पादन निर्धक्क भएर खान सकिन्छ ।’ 

    कृषि विकास शाखाले ५ वटा वडाबाट ७५ घर छनोट गरी स्पे्र ट्याङ्की, तरकारीको बीउ, कुहाउने जैविक झोल, बीउ राख्ने ट्रे, पानी हाल्ने हजारी, पञ्जा, जैविक विषादी, करेसाबारीका औजार निःशुल्क वितरण गरेको कृषि विकास शाखाका प्रमुख सुमन विमलीले जानकारी दिनुभयो ।

    रासस