२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

व्यापारीले चित्त बुझाएको बजार व्यवस्थापन



  • आफ्नै खबर
  • ७ असार २०८१ बिहिबार (११ महिना अघि)
  • पाठक संख्या ८९
  • सुनसरी/  सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जारमा प्रदेश सरकार र वडाको सहयोगमा बजार व्यवस्थापन गरिएपछि व्यापारी खुसी भएका छन् । यसअघि कालाबन्जारको मुख्य सडकमा लाग्दै आएको बजारलाई अहिले दक्षिणपट्टि रहेको सार्वजनिक जमिनमा व्यवस्थापन गरिएपछि व्यापार गर्न सहज भएको व्यापारी बताउँछन् ।

    बजार व्यवस्थापनले धेरै सुविधा र सहज भएको स्थानीय कपडा व्यवसायी सुदीप राउतले बताउनुभयो । पहिले खुला ठाउँमा व्यापार गर्दा पानी र घाममा उभिएर गर्नुपर्नेमा अहिले टहरामुनि बसेर गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले पानी परे पनि सामान भिज्न पाउँदैन, अनि गर्मीमा शीतल भइरहेको छ ।’

    पहिले पानी, शौचालयलगायत संरचनाको व्यवस्थापन नहुँदा व्यापारीलाई धेरै समस्या हुने गरेको व्यवसायी मनोज गुप्ताले बताउनुभयो । अहिले वडाले व्यापारका लागि छुट्टै स्थान र टहराको व्यवस्था गरेपछि व्यापार गर्न सहज भएको उहाँले सुनाउनुभयो ।

    क्रमिक रूपमा जनघनत्व बढ्दै गएसँगै बजार लाग्ने ठाउँ साँघुरो भएकाले व्यवसायीका साथै उपभोक्तालाई सहज गराउने उद्देश्यले बजारलाई सार्वजनिक स्थलमा व्यवस्थापन गरिएको कालाबन्जर बजार व्यवस्थापन समितिका अध्यक्ष गोकुल थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बजार व्यवस्थापनका लागि ठाउँ खोज्दै जाँदा पुरानो बजार नजिकै रहेको सार्वजनिक जमिन उपयुक्त लागेर सो क्षेत्रको अध्ययन, अनुसन्धान गरेसँगै काम थालेका हौँ ।’

    २ वर्ष अगाडि प्रदेश सरकारअन्तर्गत कृषि मन्त्रालयबाट सांसद उमिता बराइलीको कोषबाट १५ लाख रुपैयाँको सहयोगमा टहरा बनाउन सुरु गरिएको थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिले खोला बग्ने ठाउँलाई माटोले पुरेर बजार लाग्न योग्य बनाइएको हो ।

    अहिले वडाको गौरवको योजनाका रुपमा व्यवस्थित बजार बनेको अध्यक्ष थापाले बताउनुभयो । हाटबजार लाग्न सुरु भए पनि अझ व्यवस्थित बधशाला बन्न नसकेको गुनासो गर्दै उहाँले सम्बन्धित निकायले यथाशीघ्र यसको पनि व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

    पाल टाँगेर व्यापार गर्दा व्यापारी र उपभोक्त दुवैलाई सास्ती हुने गरेकामा बजार व्यवस्थापनले सबैलाई सहज बनाएको बराहक्षेत्र–५ का वडाध्यक्ष रोहित काफ्लेले बताउनुभयो । उहाँका अनुसार पहिलो वर्ष ३० लाख रुपैयाँ सहयोगमा करिब ७० वटा पसल अट्ने टहरा निर्माण गरिएको छ । 

    गत वर्षको योजनाअन्तर्गत नगरपालिकाले उपलब्ध गराएको २५ लाख रुपैयाँमा ३ वटा टहरासँगै सामुदायिक शौचालय र ऐतिहासिक इनार बनाउन थालिएको वडाध्यक्ष काफ्लेले जानकारी दिनुभयो । यस योजनाले कालाबन्जारको व्यापारिक गतिविधिलाई प्रवर्द्धन गर्न मद्दत पुर्याएको भन्दै नयाँ व्यापारिक केन्द्र निर्माण गरिएपछि व्यवसाय विस्तार गर्न प्रेरित गरिएको उहाँको भनाइ छ ।

    रासस