२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon

खाना पर्यटनमा सेफ साह, अयोध्या र कतारमा ‘मिथिला थाली’को लक्ष्य



  • आफ्नै खबर
  • ६ असार २०८१ बिहिबार (१ बर्ष अघि)
  • पाठक संख्या २३०
  • काठमाडौँ मास्टर सेफ सन्तोष साहले सुरु गर्नुभएको ‘मिथिला थाली’ रेस्टुराँ दोस्रो वर्षमा प्रवेश गरेको छ । मिथिलाको मौलिक परिकार प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्षको असार ६ गते जनकपुरमा मिथिला खानाको रेस्टुराँ सुरु गर्नुभएका साहले दोस्रो वर्ष नपुग्दै राजधानी काठमाडौँमा तीन शाखा विस्तार गर्नुभएको छ । 

    जनकपुर तथा मधेसको मौलिक परिकारको स्वाद काठमाडौँबासीलाई खुवाउने योजनाका साथ उहाँले केही समय अघि झम्सिखेलमा मिथिला थाली सुरु गर्नुभएको थियो । साथै दोस्रो वर्ष पुगेको अवसरमा गौशालामा मिथिला थालीको तेस्रो शाखाको आज ‘सफ्ट ओपनिङ’ गरिएको छ भने नक्सालको गैरीधारामा केही दिनमै नयाँ रेस्टुराँ सञ्चालन हुने उहाँको भनाइ छ । 

    उहाँका अनुसार गौशालाको शाखामा शाकाहारी मिथिला परिकार मात्रै उपलब्ध हुनेछ । पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने तीर्थयात्रीलाई लक्षित गरी रेष्टुराँ सञ्चालन गरिएको उहाँको भनाइ छ । मिथिला थालीअन्तर्गत ग्राहकले एकै थालीमा १७ परिकारको स्वाद लिन पाउने छन् । 

    “मेरो उद्देश्य मिथिलाको मौलिक खानासँगै संस्कृति र कला पनि प्रवर्द्धन गर्नु हो”, उहाँले भन्नुभयो, “त्यसैले रेष्टुराँ पनि मिथिला कलाले सजाइएको छ ।” रेष्टुराँमा  आउने ग्राहकले मिथिला आर्ट खरिद गरेर कलाकारलाई सहयोग पनि गर्न सक्ने साहको भनाइ छ । 

    दाइ दिलीप साहको प्रेरणाबाट सेफ बनेर बिबिसीको मास्टर सेफ २०२०को उपविजेता र मास्टर सेफको प्रोफेसनल रिम्याच २०२१ को बिजेता बन्दै विश्वभर नेपाली परिकार चिनाउन सफल साहले अहिले पनि दाइसँगै सहकार्यमा रेष्टुराँ विस्तार गरिरहनुभएको छ ।

    साह पछिल्लो समय उनी खाना पर्यटन प्रवर्द्धनमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । माता सीताको जन्मभूमिको परिकारलाई भगवान रामको जन्मभूमि भारतको अयोध्यामा पुर्याउने गरी काम भइरहेको र एक वर्षभित्रमा अयोध्यामा पनि मिथिला थाली रेष्टराँ सञ्चालनमा ल्याउने उहाँले जानकारी दिनुभयो । साथै कतारको राजधानी दोहामा पनि एक वर्षभित्रै रेस्टुराँ सुरु गर्ने योजना रहेको उहाँको भनाइ छ ।