१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

पर्यटकीयस्थल जोड्न ९ किलोमिटर पदमार्ग निर्माण



  • आफ्नै खबर
  • ८ असार २०८१ शुक्रबार (५ महिना अघि)
  • पाठक संख्या ५४
  • म्याग्दी/  जिल्लाका पर्यटकीयस्थलमा पुग्न ९ किलोमिटर पदमार्ग निर्माण गरिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा विभिन्न १८ वटा पर्यटन पूर्वाधार योजनामा प्राप्त १ करोड ५६ लाख रुपैयाँ बजेटबाट पदमार्गलगायतका पूर्वाधार निर्माण गरिएको हो । 

    पर्यटन तथा उद्योग कार्यालयका अनुसार जिल्लाका विभिन्न चर्चित, ऐतिहासिक र धार्मिक पर्यटकीयस्थलमा पर्यटन पूर्वाधार निर्माण योजनामा प्राप्त बजेटबाट ७ किलोमिटर ४८ मिटर नयाँ ट्र्याक बनाउने, ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाउने काम भएको पर्यटन तथा उद्योग कार्यालय, म्याग्दीका प्रमुख पोषनाथ शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार, १ किलोमिटर ७२ मिटर पदमार्गमा ढुङ्गा छापेर पदमार्ग बनाइएको छ भने १ किलोमिटर ८२ मिटर पदमार्गलाई ढलान गरेर निर्माण गरिएको छ । 

    पदमार्गसँगै धार्मिक पर्यटकीयस्थलमा घेराबार, संरक्षण, प्रवेशद्वार, रेलिङ, भ्यू पोइन्ट, वनभोजस्थललगायतका पूर्वाधार निर्माण भएको कार्यालयका सव–इन्जिनियर सुमन बोगटीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यस वर्ष जिल्लामा पर्यटन पूर्वाधार योजनामा प्राप्त सबै योजना सम्पन्न भएका छन्, कार्यालयको तर्फबाट अन्तिम अनुगमन र नापजाँच भएर अहिले धमाधम योजनाको भुक्तानी दिने काम भइरहेको छ, पर्यटन पूर्वाधार बनेपछि पर्यटक प्रवद्र्धनमा सघाउनुका साथै स्थानीयवासीलाई सुविधा पुगेको छ ।’ 

    यस वर्ष सबैभन्दा धेरै २० लाख रुपैयाँ बजेट विनियोजन भएको अन्नपूर्ण गाउँपालिका–५ को खोप्रालेकमा पदमार्ग, भ्यू पोइन्ट निर्माणसँगै खानेपानीको पूर्वाधार निर्माण गरिएको छ । जिल्लाकै ऐतिहासिक धार्मिकस्थल ताकमकोट, ज्यामरुङकोट, चिनाकोटमा १०/१० लाख रुपैयाँ बजेटबाट पदमार्ग, रेलिङलगायतका पर्यटन पूर्वाधार निर्माण भएका छन् । बेनी नगरपालिका–९ को ढोलथानमा १० लाख रुपैयाँ बजेटबाट पदमार्ग, प्रवेशद्वार वनभोजस्थल र रेलिङ निर्माण भएको कार्यालयले जनाएको छ । 

    महभिरदेखि करबाकेलीथान जाने बाटो, पनथोकदेखि मालिका जोड्ने बाटो, गलेश्वर–काउलेगौडा–नेप्टेचौर ढोलठान जाने बाटो, दर्मिजा–नांगीदेवि थान बाटो, लामाखोरिया–डाँडागाउँ जोड्ने बाटोमा १०/१० लाख रुपैयाँ बजेटबाट पदमार्ग निर्माण र विस्तार गरिएको छ । 

    त्यसैगरी बेनीस्थित डल्लेपिपल–फोहोटे रिठाबोट र रघुगङ्गा गाउँपालिका–२ भगवतीको अन्नपूर्ण आधारभूत विद्यालयदेखि हवल्दारको चौतारासम्म ८/८ लाख रुपैयाँ बजेटबाट सिँढी चिनेको पदमार्ग निर्माण गरिएको छ । बेनी नगरपालिका– १ रत्नेचौरमा रहेको परम बैदिक धार्मिक सनातन आश्रम, सारेमारे–भूवाने, भालश्री छापाछाङ औसी– खालीखोला, बलौटे–दुखुबेँसी, कालीबराह ताल, शिलखुङ– चाङ्गा जोड्ने बाटोमा ५/५ लाख रुपैयाँ बजेटबाट पदमार्ग निर्माण तथा संरक्षणको काम गरिएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले जनाएको छ ।  

    रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?