११ साउन २०८२ आईतबार | 27 Jul 2025 Sun

पर्सा प्रहरी कार्यालयमा ‘डिजिटल स्मार्ट कन्ट्रोल रुम’ सञ्चालन



  • आफ्नै खबर
  • ८ असार २०८१ शनिबार (१ बर्ष अघि)
  • पाठक संख्या ११५
  • पर्सा/  जिल्लामा हुने आपराधिक गतिविधिलाई न्यूनीकरण गर्न र प्रहरी परिचालनमा व्यवस्थित गराउनका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ‘डिजिटल स्मार्ट कन्ट्रोल रुम’ सञ्चालनमा ल्याइएको छ । कार्यालयले दैनिक प्रहरी परिचालनलाई व्यवस्थित गराई आफ्ना गतिविधिलाई छिटोछरितो सम्बोधन, अपराध रोकथाम, नियन्त्रणका लागि स्मार्ट कन्ट्रोल रुम सञ्चालनमा ल्याएको हो । 

    जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले डिजिटल स्मार्टरुमको शुक्रबार उद्घाटन गर्दै प्रविधिका माध्यमबाट अपराध नियन्त्रण र प्रहरी परिचालनमा सहज हुने बताउनुभयो । ‘प्रहरीलाई अत्याधुनिक प्रविधिसँग जोडेसँगै प्रहरीका गतिविधि पनि छिटोछरितो हुनेगर्छ’, उहाँले भन्नुभयो, ‘यसले प्रहरीलाई थप जिम्मेवार र तुरुन्तै एक्सनमा जाने वातावरण तयार पार्नेछ ।’

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक भारतीले करिब ७ लाख रुपैयाँको लागतमा डिजिटल स्मार्ट कन्ट्रोल रुम सञ्चालनमा ल्याएको बताउनुभयो । ‘पहिला कन्ट्रोल रुम म्यानुअल ढङ्गले सञ्चालन हुँदै आइरहेको थियो’, उहाँले भन्नुभयो, ‘१०० नम्बरमा आउने फोनबाट आउने उजुरी तथा गुनासो रेकर्ड सम्बन्धित ढड्डामा रेकर्ड गरेर फिल्डमा रहेका प्रहरीलाई फोनमार्फत जानकारी गराइन्थ्यो । तर अहिले प्रविधिकै माध्यमबाट रेकर्ड हुने भएकाले र तुरुन्तै रेस्पोन्स गर्न सकिनेछ ।’ 

    जिल्लाभरि रहेका प्रहरीका सवारी साधनलाई पनि ‘जिपिएस’ प्रणालीद्वारा ‘ट्रयाकिङ’ गर्ने पद्धतिको पनि विकास गर्ने काम भइरहेको छ ।

    रासस