पर्सा/ वीरगञ्ज महानगर क्षेत्रमा चापाकल सुकेर खानेपानीको चर्काे अभाव हुन थालेपछि सर्वसाधारणले खानेपानीको लाइन जडान गर्न थालेका छन् । चालु आर्थिक वर्षको साउनदेखि यही असार ६ गतेसम्मको अवधिमा मात्रै थप २ हजार ८ सय १० घरधुरीले खानेपानी संस्थान शाखा कार्यालयबाट नयाँ धारा जडान गरेका हुन् ।
खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जका वितरण प्रमुख सञ्जीवकुमार यादवले सर्वसाधारणको घरआँगन परिसरमा जोडेको चापाकल सुकेसँगै खानेपानी संस्थानको धारा जोड्नेक्रम ह्वात्तै बढेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पहिला वीरगञ्जवासीले संस्थानको धारा जडानमा खासै रुचि देखाउँदैनथे तर अहिले घरमा गाडिएको चापाकलमा पानी आउन छाडेसँगै संस्थानको धारा जडान गर्न भन्दै आउने गरेका छन् ।’
वितरण प्रमुख यादवका अनुसार गत आवको असार मसान्तसम्म संस्थानका ग्राहक ८ हजार ४ सय मात्रै रहेका थिए । तर यो हिउँदमा चर्काे खडेरी लागेसँगै खानेपानी सस्थानको लाइन जोड्नेको सङ्ख्या बढिरहेको छ । २०८१ साल असार ६ गतेसम्म संस्थानका खानेपानीका कूल ग्राहक सङ्ख्या ११ हजार २ सय १० पुगेका छन् । संस्थानले वीरगञ्ज महानगरभित्र २ सय ८५ सार्वजनिक धारामार्फत पनि खानेपानी उपलब्ध गराउँदै आइरहेको छ ।
वितरण प्रमुख यादवले भन्नुभयो, ‘चुरे क्षेत्रको विनाशकै कारणले पनि वीरगञ्ज आसपास क्षेत्रको भूमिगत पानीको सतह घट्दै गइरहेकाले पनि खानेपानीकोसमस्या देखिएको हो ।’ कार्यालयका अनुसार वीरगञ्ज क्षेत्रको खानेपानीको मुख्य स्रोत नै भूमिगत पानी नै हो । अन्य पहाडी जिल्लामा जस्तो यहाँ कुनै नदीबाट पानी ल्याएर वितरण गर्न सक्ने अवस्था छैन ।
खानेपानी संस्थानसँग दैनिक १ करोड ६८ लाख लिटर खानेपानी उत्पादन गर्ने क्षमता रहेको छ । अहिले वीरगञ्ज महानगर क्षेत्रमा १ करोड १५ लाख ५० हजार लिटर पानीको दैनिक माग रहेको छ । तर, कूल उत्पादन क्षमता भने ४० प्रतिशत खानेपानी चोरी तथा चुहावट हुने गरेको छ ।
कार्यालयसँग साना/ठूला गरेर डेढ दर्जन खानेपानीका बोरिङ रहेका छन् । तीमध्ये ११ भूमिगत पानी तान्ने ठूला प्रकृतिका बोरिङ रहेका छन् । कार्यालयसँग कम्तीमा पनि वीरगञ्जका २० हजार घरधुरीलाई खानेपानी खुवाउन सक्ने क्षमता छ । तर अहिले पूर्वाधार र बजेट अभावको कारणले सकिरहेको छैन । वितरण प्रमुख यादवले बजेट अभावकै कारणले चाहे जति खानेपानीको पाइपलाइन विस्तार गर्न नसकिरहेको बताउनुभयो ।
प्वाल पारेर पानी चोरी
खानेपानी संस्थान शाखा कार्यालयले वीरगञ्जको छपकैयाँ क्षेत्रमा अवैध ढङ्गले खानेपानीको पाइपमा प्वाल पारेर खानेपानीको चुहावट भइरहेको नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयसँग सहयोग मागेको छ । ‘वीरगञ्जको छपकैयाँ क्षेत्रमा सर्वसाधारणले खानेपानीको पाइपलाई क्षति पु¥याएर खानेपानी चोरी गरिरहेका छन्’, शाखा प्रबन्धक मन्दिप श्रेष्ठले भन्नुभयो, ‘खानेपानीको चोरी नियन्त्रण गर्नका लागि आवश्यक सहयोग गरिदिन अनुरोध गर्दछु ।’ उक्त क्षेत्रमा २ सयभन्दा धेरै घरधुरीले खानेपानीको अबैध रुपमा प्रयोग गर्दै आइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस