१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

बाँझो जमिनमा खेती गर्नेलाई अनुदान 



  • आफ्नै खबर
  • १२ असार २०८१ मंगलबार (५ महिना अघि)
  • पाठक संख्या ५३
  • चितवन/  इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेटमा नै अनुदानको व्यवस्था गरेको हो । 

    गाउँपालिका उपाध्यक्ष माया सिलवालले सोमबार गाउँसभाबाट पारित भएको बजेटमा बाँझो जमिन प्रयोग तथा साना सिँचाइ कार्यक्रमका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताउनुभयो । बाँझो जमिनमा खेती गर्ने किसानलाई आवश्यक बीउ सिँचाइलगायत अनुदान दिइने उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले बाख्रापालन, सुन्तलाखेती, मकैलगायत परम्परागत बाली संरक्षणलाई पनि निरन्तरता दिएको उहाँले बताउनुभयो । 

    उपाध्यक्ष सिलवालका अनुसार किसानसँगको लागत साझेदारीमा बाख्रापालन प्रवद्र्धन कार्यक्रम सञ्चालनका लागि २७ लाख रुपैयाँ, सुन्तलाखेतीका लागि २६ लाख रुपैयाँ, मौरीपालन कार्यक्रमका लागि ७ लाख रुपैयाँ, मकैखेती कार्यक्रमका लागि ७ लाख रुपैयाँ, कृषि बाली तथा पशुपन्छीमा फैलिने रोग नियन्त्रण साथै मिनी ल्याब एवं औषधोपचार कार्यक्रमका लागि ९ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, पशुपालक किसानलाई पशुधनको उपचारमा प्रयोग हुने विभिन्न औषधि निःशुल्क उपलब्ध गराइने छ । 

    उत्पादनमा आधारित प्रोत्साहन प्रदान गर्न कृषि तथा पशु उत्पादनको लागि एकमुष्ट ६ लाख रुपैयाँ तथा सो को तथ्याङ्क अभिलेखीकरणका लागि १ लाख रुपैयाँ, सामूहिक खेती एवं नवप्रवद्र्धन व्यवसाय प्रोत्साहनका लागि ५ लाख रुपैयाँ, पर्यटकीयस्थल जलवीरेमा कोसेली घर सञ्चालनमा ल्याई स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणमा सहयोग गर्नका लागि २५ लाख रुपैयाँ, फिस्लिङ तरकारी उपज सङ्कलन केन्द्रलाई कृषकहित अनुकूल हुने गरी कार्यविधिअनुरुप सञ्चालनमा ल्याउनका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    –रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?