काठमाडौं/ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को सन् २०२४–२०२६ कार्यकालका लागि केन्द्रीय कार्यसमितिको निर्वाचन आगामी जुलाई ६ र ७ तारिकमा हुँदै छ । अनेसास २ हजार ६ सय ९९ आजीवन सदस्य रहेको, विश्वभर पाँच महादेशमा फैलिएको साहित्यिक सञ्जाल हो ।
आसन्न निर्वाचनका लागि पत्रकार तथा साहित्यकार गुणराज लुइँटेलको संयोजकत्वमा डा. चूडामणि खनाल र डा. कविता घिमिरे सम्मिलित निर्वाचन समिति पनि गठन गरिएको छ ।
भानुजयन्तीको सन्दर्भ पारेर नयाँ कार्यसमितिलाई पदहस्तान्तरण गरिने कार्ययोजनासहित निर्वाचन हुन गैरहेको अध्यक्ष गोवर्द्धन पूजाले अनेसासको होमपेजमा उल्लेख गर्नु भएको छ ।
यसपटकको निर्वाचनले १–१ जना अध्यक्ष र वरिष्ठ उपाध्यक्षसहित प्रत्येक महादेशबाट १–१ जना उपाध्यक्ष गरी ५ जना उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य निर्वाचित गर्नेछ । २ जना सदस्य मनोनित गरेर १७ जनाको कार्यसमिति बन्ने छ ।
को को छन् चुनावी मैदानमा ?
उम्मेदवारी दर्ता जुन २४ सोमबार सकिएर अन्तिम नामावली भर्खरै मात्र प्रकाशित भएको छ ।
अध्यक्ष पदका लागि केन्द्रीय वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले र केन्द्रीय महासचिव विमला निरौलाबीच कडा टक्कर रहने देखिन्छ । केन्द्रीय वरिष्ठ उपाध्यक्ष वाग्ले र केन्द्रीय महासचिव निरौला दुवैजनाले अमेरिकालाइनै कर्म थालो बनाएर अनेसासको अभियानलाई अगाडि बाढाइ रहेका छन् । भिभिन्न पदमा अगाडि बढ्दै २ पटक वरिष्ठ उपाध्यक्ष भैसकेकाले अबको उमेद्वारी अध्यक्ष पदमा रहेको वाग्लेको दाबी छ । निरौला पनि भिभिन्न पदमा अगाडि बढ्दै बर्तमान कार्यसमितिको सकृय महासचिव हुन् ।
वरिष्ठ उपाध्यक्षमा लालगोपाल सुवेदी र राजेन्द्रकुमार श्रेष्ठबिच चुनाव हुने देखिन्छ । सुबेदी यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्षकै पदमा थोरै मतान्तरले पराजित भएकाले पनि यस पटक आशावादी हुन सक्छन् ।
केन्द्रीय समिति उपाध्यक्ष प्रत्येक महादेशबाट १–१ जना रहने ब्यवस्था अनुसार, अफ्रिका महादेशीय उपाध्यक्ष गणेश खड्का, युरोप महादेशीय उपाध्यक्ष डिल्लीराम अम्माइ तथा ओशियानिया महादेशीय उपाध्यक्ष हरिप्रसाद अधिकारीको एकल मनोनयन दर्ता भएको छ । निर्वाचन समितिबाट निर्विरोध निर्वाचित भएको आधिकारिक घोषणा हुन भने बाँकीनै छ ।
निर्वाचनमा होमिएका अमेरिका महादेशीय उपाध्यक्षका लागि वोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्त र वर्तमान केन्द्रीय कार्यसमितिका सदस्य सुदीपभद्र खनाल डिसी च्याप्टर रहेका छन् । दुवै जना अमेरिकाबाटै एक आपसमा प्रतिस्पर्धा गर्दै छन ।
एसिया महादेशीय उपाध्यक्षमा जापानबाट दिनेशराज ज्ञवाली, कोरियाका प्रमोद सारंग, नेपालबाट सरिता अर्यालका बीच मतदान हुने छ । यस अघि उक्त पद नेपाल च्याप्टरको पोल्टामा हुने गरे पनि यस पटक त्रिपक्षीय भिडन्त हुँदै छ । जापान च्याप्टरका पूर्व अध्यक्ष ज्ञवाली अमेरिका बाहिरको पहिलो च्याप्टरको रुपमा स्थापना काल सन् २००३ देखिनै निरन्तर यस अभियानमा रहेकोले मतदाताले बिजयी गराउनेमा विश्वस्त देखिन्छन् । सारङ्ग पनि आफुले मिलेर जाने पहल गर्दागर्दै चुनावमा होमिनुपरे पनि आफ्नो पकड बलियो रहेको जिकिर गर्छन् ।
महासचिवमा दुवैजना अमेरिकाकै निलुकृष्ण गिरी र अध्यक्ष राजु सिटौला छन् ।
सचिव पदका लागि अनेसास केन्द्रीय सदस्य जापानका रविन शर्मा निर्विरोध निर्वाचित भएका छन् । युरोपका एनबी अन्जानको उमेदवारी रहने चर्चा भए पनि सहमति भएको देखिन्छ ।
कोषाध्यक्षमा अनेसास केन्द्रीय सदस्य तारा अधिकारी पनि निर्विरोध छन् ।
सदस्य ५ मा सुमन वर्षा घिमिरे, पुष्पा खनाल, दीप कार्की, तारा उप्रेती र रत्न सुब्बाको मात्र उमेद्वारी परेकोले निर्बिरोध भएको छ ।
हुनत डायस्पोरामा नेपाली साहित्य र संस्कृतिलाइ जगेर्ना गर्ने हेतुले खुलेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको इतिहासमा गुट उपगुट, संस्थापन पक्ष–विपक्ष, बि. ओ. टी. र केन्द्रीय कार्य समितिको मतभेद पहिलेदेखि नै सतहमा देखिँदै आएको हो ।
वर्तमान अध्यक्षबाट सामाजिक सन्जालमा हिजो सोमबार राखिएको बिचार ‘अनेसास भनेको संस्था हो, कुनै हालतमा पनि व्यक्ति होइन, हुनै सक्दैन, संस्थागत स्वार्थको जीत होस्’ हेर्दा यस पटकको निर्वाचन पनि तनाब बिहिन देखिँदैन ।
मतदान समय जुलाई ६ तारिख १२ बजे देखि जुलाई ७ तारिख राति ११ः५९ सम्म रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस