बाँके/ डिभिजन वन कार्यालय बाँकेले चालु आर्थिक वर्षमा ४ हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमण गरी बनाइएका २७ घरटहरा हटाएको छ । नरैनापुर र राप्ती सोनारी गाउँपालिकामा अतिक्रमित वनक्षेत्रमा निर्मित घरटहरा हटाइएका हुन् ।
डिभिजनल वन कार्यालयका अधिकृत अजीतकुमार कर्णका अनुसार, राप्ती सोनारी–७ मण्डफवा सामुदायिक वन उपभोक्ता समूहमा करिब ३ हेक्टर वनक्षेत्र अतिक्रमण गरी बनाइएका १३ घरटहरा तथा राप्ती सोनारी–९ ढकेरीमा विगतमा रेञ्जपोष्ट रहेको करिब १ हेक्टर क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका ७ घरटहरा हटाइएको हो ।
नरैनापुर–६ को दुर्गामाता सामुदायिक वनमा अतिक्रमण गरी निर्माण गरिएका ७ घरटहरासमेत हटाइएको छ । राप्ती सोनारी–७ स्थित मण्डफवा सामुदायिक वन उपभोक्ता समूहमा करिब ३ हेक्टर वनक्षेत्र अतिक्रमणमा संलग्न १३ जनामाथि मुद्दा चलाइएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वीरेन्द्रकुमार रोकाले जानकारी दिनुभयो । अन्य वनक्षेत्रको अतिक्रमण हटाउने काम भइरहेको उहाँले बताउनुभयो ।
राप्ती सोनारी–९ ढकेरीमा विगतमा रेञ्जपोष्ट रहेको करिब १ हेक्टर क्षेत्र अतिक्रमण गरी निर्माण भएका ७ घरटहरा हटाएर हाइटेक नर्सरी निर्माणकार्य भइरहेको छ । हाइटेक नर्सरीमा बिरुवा उत्पादन गरिने शम्शेरगञ्ज सबडिभिजन वन कार्यालयका प्रमुख वरिष्ठ वन अधिकृत सुशील सुवेदीले जानकारी दिनुभयो । शम्शेरगञ्ज सबडिभिजन वन कार्यालयअन्तर्गत राप्ती सोनारी–२ कचनापुर, वडा नं ६ फत्तेपुर र वडा नंं ८ महादेवपुरीमा बाढीपीडितका नाममा वनक्षेत्र अतिक्रमण गरिएको उहाँले बताउनुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस