१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

तातोपानी गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने



  • आफ्नै खबर
  • १३ असार २०८१ बुधबार (५ महिना अघि)
  • पाठक संख्या ८८
  • जुम्ला/  तातोपानी गाउँपालिकाले एकल पुरुष भत्ता कार्यक्रम लागू गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमा गाउँपालिकाभित्रका आर्थिक अवस्था कमजोर भएका, कुनै व्यवसाय नभएका एकल पुरुषको जीविकोपार्जन सहज बनाउन भत्ता कार्यक्रम लागू गरिएको हो ।

    पालिकाले ५० वर्षदेखि ६० वर्षसम्मका एकल पुरुषलाई वार्षिक ४ हजार रुपैयाँका दरले भत्ता दिने कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरेको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिनुभयो । सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट लाभान्वित पुरुष बाहेक अन्य एकल पुरुषका लागि गरिएको उक्त कार्यक्रममा ४ लाख रुपैयाँ विनियोजन गरिएको उहाँको भनाइ छ । 

    किसानलाई व्यावसायिक पशु पालनतर्फ आकर्षित गर्न कम्तीमा १ सय भन्दाबढी भेडाबाख्रा पाल्नेलाई प्रोत्साहन भत्ता वितरण गर्नका लागि २ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताउनुभयो । उहाँका अनुसार पालिकाभित्रबाट एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्नेमध्ये एकजनालाई पहिलो वर्षको पढाइ खर्चबापत १५ लाख रुपैयाँ दिने गरी रकम विनियोजन गरेको छ । 

    जेहेनदार तथा विपन्न विद्यार्थीलाई निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न १५ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष रेवती रावलले जानकारी दिनुभयो । 
    सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न पालिकाभित्रका सबै विद्यालयमा शैक्षिक कचहरी कार्यक्रम सञ्चालनका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरूप २० हजार रुपैयाँ प्रदान गर्ने नीति तातोपानीले लिएको छ । 

    अति विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई पालिकाले निरन्तरता दिएको छ । बीमा कार्यक्रमका लागि १६ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष चौलागाईंले बताउनुभयो । 

    भौगोलिक रुपमा कठिन भएका वडाका ज्येष्ठ नागरिक, गर्भवती, बालबालिकालगायतको स्वास्थ्य परीक्षणका लागि घुम्ती शिविर सञ्चालन गर्न १० लाख रुपैयाँ बजेट नीति कार्यक्रमबाटट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

    –रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?