कैलाली/ भजनी नगरपालिका–३ का विष्णु चौधरीलाई बर्सेनि बाढी र डुबानका कारण विस्थापित भएर हुलाकी सडकमा आश्रय लिनुपर्ने बाध्यता छ । बर्खा सुरु भएपछि विष्णुजस्ता सयौँ परिवारका लागि बाढी र डुबानबाट विस्थापित भएर सडकमा आश्रय लिनु बाध्यता हो ।
पटकपटक बाढीको जोखिमबाट छुटकाराका लागि हारगुहार गरिरहेका विष्णुलाई यस वर्ष हुलाकी सडक छेउमा निर्माण भएको उच्च आवासगृहले आशा जगाएको छ । सङ्घीय सहरी तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइले ६ वर्ष पहिलेदेखि भजनी क्षेत्रमा उच्च आवासगृह निर्माणका लागि बजेट विनियोजन हुने तर जग्गा प्राप्तिमा समस्या भएपछि त्यो फिर्ता हुँदा जोखिममा परेका नागरिक निराश थिए ।
धुसीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले नगरपालिकामार्फत उच्च आवासगृहका लागि जग्गा उपलब्ध गराएपछि भवन निर्माणको काम सुरु भएसँगै स्थानीय खुसी भएका छन् । सङ्घीय सहरी तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइमार्फत १ करोड ६६ लाख रुपैयाँको लागतमा भवन निर्माणाधीन छ ।
‘जिल्लाका अन्य स्थानमा पनि यस्तै भवन बनेका छन् । त्यसैअन्तर्गत भजनीमा भवन निर्माण हुन लागेको हो’, कार्यान्वयन एकाइका इन्जिनियर मोहन अवस्थीले भन्नुभयो, ‘यस्तै अर्को भवन कञ्चनपुरको बेलडाँडीमा पनि निर्माण भइरहेको छ ।’ भवन सञ्चालनमा आएपछि प्रभावितलाई राहत हुनेछ ।
उहाँका अनुसार चालु आवमा सबै काम नसकिए पनि बस्न सक्ने स्थितिको भवनको काम हुनेछ । ‘सबै काम यस वर्ष सकिँदैन, बाँकी अर्को वर्ष सक्नेगरी पुनः १ करोड ५० लाख रुपैयाँ बजेट आएको छ’, उहाँ भन्नुहुन्छ, ‘त्यसभन्दा पछि आवश्यकतानुसार २ तलासम्म स्थानीय सरकारले आफ्नो स्रोतबाट थप गर्न सक्नेगरी डिजाइन बनाइदिएका छौँ ।’ भवनको ८० प्रतिशत काम पूरा भएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस