काठमाडौँ/ काठमाडौँ महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यसवर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ । कामपाले वर्षाका कारण फोहोर व्यवस्थापन हुने समस्या समाधान भइसकेको जनाएको हो ।
कामपाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने बाटोको समस्या समाधान भइसकेकाले लामो समयसम्म फोहर रोकिने समस्या नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगतमा फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलमा पनि विगतको फोहरलाई (क्यापिङ्) माटोले छोपेर मिलाउने काम गरिसकेको र वैकल्पिक बाटोको व्यवस्था गरेकाले यसवर्ष फोहर व्यवस्थापनमा समस्या हुँदैन ।’
लम्सालले तीनपिप्लेदेखि सिसडोलम्म केही स्थानमा पहिरो जाने गरेकामा ती स्थानमा पर्खाल निर्माण गरिएकाले नियमित पानी परे पनि समस्या नहुने बताउनुभयो । कामपाका कूल ३२ वडामध्ये भित्री ९ वटा वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ ।
हरेक दिन उपत्यकाबाट १ हजार २ सय मेट्रिकटन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको ५ सय मेट्रिक टन फोहर जान्छ । निजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा २ सय गाडीले फोहर ओसार्छन् ।
उपत्यकाका १८ पालिकाको फोहर दैनिक रुपमा त्यहाँ पुग्ने गरेको छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहरको अन्तिम व्यवस्थापन हुँदै आएको छ । २०६८ सालमा सरकारले जारिगरेको फोहरमैला व्यवस्थापन ऐन र २०७७ सालमा कामपाले जारिगरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि फोहरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने कानुनी व्यवस्था छ । यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहरलाई छुट्टाछुट्टै भाडामा राख्नुपर्ने हुन्छ ।
-रासस
प्रतिक्रिया दिनुहोस