२४ बैशाख २०८२ बुधबार | 07 May 2025 Wed

पाहुनाको पर्खाइमा सुनाखरी मध्यवर्ती सामुदायिक होमस्टे



  • आफ्नै खबर
  • १६ असार २०८१ शनिबार (१० महिना अघि)
  • पाठक संख्या ४०७
  •  

    वीरगञ्ज  पर्साको ठोरीमा गाउँपालिका–५ सुवर्णपुरमा अवस्थित सुनाखरी मध्यवर्ती सामुदायिक घरबास (होमस्टे) प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । मधेस प्रदेशकै पहिलो सामुदायिक घरबास पर्याप्त प्रचारप्रसार र ‘ब्रान्डिङ’को अभावले अपेक्षाकृतरूपमा पर्यटकको आवागमन बढ्न सकिरहेको छैन ।

    यो घरबास २०७३ सालदेखि १५ घरमा सञ्चालन हुँदै आइरहेको छ । वीरगञ्ज महानगरक्षेत्रबाट ३४ किलोमिटरको दूरीमा पर्ने घरबासबाट ठोरीको मनोरम दृश्यका साथै विभिन्न खालका जङ्गली जनावरको अवलोकन गर्न सक्नेछन् । यहाँ बाघमोर्चा माई, गुम्बा, प्रणामी मन्दिर, सहिदस्मारक, सुनाखरी वनलगायतका आकर्षण रहेका छन् । 

    प्रचारप्रसारको अभावले अपेक्षाकृतरूपमा पर्यटक भित्र्याउन नसकिएको सुनाखरी मध्यवर्ती सामुदायिक घरबासका अध्यक्ष शम्भुराम पौडेलले बताउनुभयो । “सुनाखरी घरबास मधेस प्रदेशकै पहिलो घरबास हो । तर पर्याप्त प्रचारप्रसारको अभावले अपेक्षाकृतरूपमा पहुना भित्र्याउन सकिएको छैन”, उहाँले भन्नुभयो, “यहाँ १५  घरमा अहिले घरबास सञ्चालन भइरहेको छ । यहाँ स्थानीयस्तरमा उत्पादन हुने परिकारलाई राम्रोसँग ‘ब्रान्डिङ’ गर्न सकिरहेका छैनौँ ।”

    घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहले मधेस प्रदेशको सानका रूपमा रहेको पहिलो घरबासलाई प्रभावकारी ढङ्गले प्रचारप्रसार तथा ब्रान्डिङ गर्नुपर्ने बताउनुभयो । कार्यालयले सामुदायिकरूपमा घरबास सञ्चालन गर्दै आइरहेका उद्यमीलाई आगामी दिनमा लेखा तथा बजारीकरण सम्बन्धित जनेचतनामूलक अभिमुखीकरण कार्यक्रम अघि बढाइने प्रमुख सिंहले बताउनुभयो ।

    सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले समितिले सुरूआती चरणमा रू ३०३० हजार रकम ऋण दिएर सुरूआत भएको सामुदायिक घरबासले पूर्वाधार निर्माणमा धेरै फेरिएको बताउनुभयो । “सुनाखरी सामुदायिक घरबास निकै कष्टका साथमा सुरूआत भएको थियो । तर अहिले घरबासका सामुदायिक भवन तयार भएर सञ्चालनमा आइसकेको छ”, उहाँले भन्नुभयो, “१५ घरबासमा सञ्चालनमा रहेका छन् । केही वर्षअघि प्रदेश सरकारले घरबास पूर्वाधार सुधार गर्न बजेट उपलब्ध गराएको थियो ।”  

    मध्यवर्ती सामुदायिक घरबासका सञ्चालक ज्योति लामाले स्थानीयस्तरमा पाइने खानेकुरालाई प्राथमिकता राख्दै आइरहेको बताउनुभयो । “यहाँ उत्पादन हुने मकैको विशेष परिकार पर्यटकले निकै रूचाएर खाइरहनुभएको छ,’’ उहाँले भन्नुभयो,‘लोकल कुखुरा र मकैको ढिँडाको पनि पहुनाले धेरै रूचाइरहनुभएको छ ।” सञ्चालक लामाले घरबास मध्यमस्तरमा चल्दा पनि आफ्नो जीविकोपार्जन गर्न धेरै सहयोग पुगेको बताउनुभयो । “हामीले निकै सस्तो र सुलभ दरमा घरबासले पाहुनाको सेवा सत्कार गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो, “समूहमा पाहुना आउँदा तामाङ सामुदायले सांस्कृतिक कार्यक्रम पनि देखाउँदै आइरहेका छौँ ।”