४ भदौ २०८२ बुधबार | 20 Aug 2025 Wed

स्थानीय उत्पादन प्रवर्द्धन गर्न स्थापित कोसेलीघर सञ्चालनमा



  • आफ्नै खबर
  • १७ असार २०८१ सोमबार (१ बर्ष अघि)
  • पाठक संख्या १७५
  • म्याग्दी/  म्याग्दी भित्रने प्रमुख नाका कालीपुलमा स्थानीय उत्पादनको बिक्री कक्ष (कोसेली घर) सञ्चालनमा आएको छ । जिल्लामा उत्पादन भएको कृषि, वन, पशुजन्य उत्पादनको बजारीकरण गर्ने उद्देश्यले जिल्ला उद्योग वाणिज्य सङ्घ र महिला उद्यम विकास समितिले बेनी नगरपालिकासँगको समन्वयमा बिक्री कक्ष सञ्चालन गरेका हुन् । 

    उक्त कक्षमा जिल्लामा उत्पादित सिमी, भांगो, आलु, टिम्मुर, अल्लो र ढाकाका कपडा, मुडा, मह, मकै, अचार, भागोलगायत स्थानीय परिकार राखिएको महिला उद्यम विकास समितिका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिनुभयो । ‘म्याग्दी भित्रने र मुस्ताङ जाने–आउने मुख्य नाकामा स्थापना गरिएको कोसेली घरले स्थानीय उत्पादनको बजारीकरणका साथै जिल्लाको पहिचान बढाउन सहयोग पुग्ने अपेक्षा गरेका छौँ’, अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘गाउँका किसान र उद्यमीले उत्पादन गरेका कृषि उपज र सामग्री खरिद गरी बिक्री गर्ने व्यवस्था मिलाएका छौँ ।’

    कोसेली घर रहेको भवनमा आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्लाका धार्मिक, पर्यटकीयस्थलका बारेमा जानकारी गराउने उद्देश्यले गत वैशाखमा पर्यटक सूचना केन्द्र सञ्चालन गरिएको छ । सूचना केन्द्र र कोसेली घरले पर्यटन प्रवर्द्धनका साथै स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । ‘२०७५ सालमा स्थापना भएको सूचना केन्द्र कोरोना महामारी फैलिएपछि २०७७ सालदेखि बन्द भएको थियो’, उहाँले भन्नुभयो, ‘३ वर्षपछि पुनःसञ्चालनमा ल्याएका छौँ ।’

    केन्द्रमा एकजना कर्मचारीसहित धार्मिक, पर्यटकीयस्थल, कला, संस्कृतिसम्बन्धी जानकारीमूलक तस्बिर तथा दृश्य सामग्री राखिएको वाणिज्य सङ्घका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘जिल्लाका ६ वटै स्थानीय तहका पर्यटकीय, धार्मिकस्थलका साथै जनजीवन, संस्कृति, रहनसहन झल्कने तस्बिर, सोको महत्व, अवस्थिति, पुग्न लाग्ने समय र खानबस्नको सुविधालगायत विषयमा जानकारीमूलक सूचनापाटी राखेका छौँ ।’ 

    तत्कालीन जिल्ला विकास समिति र बेनी नगरपालिकाले सूचना केन्द्र र कोसेली घर स्थापनाका लागि २५ लाख रुपैयाँ बजेट खर्च गरेको नगरप्रमुख सुरत केसीले जानकारी दिनुभयो । कोसेली घरको उद्घाटन गर्दै उहाँले बेनीमा पर्यटकको बसाइ लम्ब्याउन, उद्यम व्यवसाय प्रवद्र्धन गर्न कासेली घर र सूचना केन्द्र सहयोगी बन्ने विश्वास गर्नुभयो । 

    कालीपुल बसपार्कलाई व्यवस्थित गरिएको भन्दै बेनी–जोमसोम–कोरला खण्डमा असफाल्ट प्रविधिबाट कालोपत्र गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले ठेक्का आह्वान गरी काम अगाडि बढाएको नगरप्रमुख केसीले बताउनुभयो ।  

    नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले कोसेली घर सञ्चालनमा आएसँगै स्थानीय महिलाले उत्पादन गरेका ढाकाका कपडा तथा विभिन्न परिकारका अचारलगायत सामग्रीको बिक्री वितरणमा सहजता हुने अपेक्षा लिइएको बताउनुभयो । महिलालाई सीप सिकाउँदै आत्मनिर्भर बनाउन र उद्यमशीलताको विकास गर्न ‘आमा समूहसँग उपमेयर कार्यक्रम’ सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।  

    -रासस