१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

कुतियाकवरवासीलाई सेनाले वनाइदियो ‘सुरक्षित घर’



  • आफ्नै खबर
  • १८ असार २०८१ सोमबार (५ महिना अघि)
  • पाठक संख्या १०१
  • कञ्चनपुर/  दोधारा–चादँनी नगरपालिका–१० कुतियाकवरकी अम्बिका सुनारलाई बर्सेनि बाढीको त्रास रहन्थ्यो । कुतियाकवर महाकाली र जोगबुढा नदी तटीय क्षेत्रको वस्ती हो । 
    ६७ वर्षीया सुनारलाई वर्षायाम सुरु भएपछि सधैँ बाढीको त्रास रहन्छ । तर यसपाली नेपाली सेनाले यहाँ सेफ हाउस (सुरक्षित घर) निर्माण गरेपछि सुनारलगायत स्थानीय ४२ परिवार बाढीको जोखिमबाट जोगिने भएका छन् । 

    कुतियाकवरको दक्षिण र उत्तरतर्फ महाकाली र जोगबुढा नदी रहेको छ । महाकाली र जोगबुढाको दोसाधमा पर्ने उक्त वस्तीका बासिन्दाले गत वर्षसम्म वर्खामा ओमकार प्राविमा आश्रय लिने गरेका थिए । ‘विगत वर्षमा बाढी आउँदा विद्यालयमा बास बस्ने गथ्र्यौँ, धनमाल र गाइवस्तु सबै बाढीले बगाउँथ्यो’, सुनारले भन्नुभयो, ‘यसपाली नेपाली सेनाले वस्तीमै सेफ हाउस बनाइदिएपछि त्रास हटेको छ ।’

    करिब ३ महिना लगाएर सेनाले कुतियाकवरमा २ तले सुरक्षित घर बनाएको हो । सेनाले उक्त सुरक्षित घर आज  दोधारा–चादँनी नगरपालिकालाई हस्तान्तरण गरेको छ । सुरक्षित घर बनेपछि कुतियाकवरका ४२ परिवार बाढीको बेला बाँचिने भयो भन्दै खुसी भएका छन् ।

    नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकले सेनाको  शीघ्र प्रभावी परियोजना अन्तर्गत यहाँ सुरक्षित घर निर्माण गरेको हो । नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथि गणेशकुमार श्रेष्ठले सुरक्षित घरको उद्घाटन गर्नुका साथै साँचो दोधारा–चादँनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बूलाई हस्तान्तरण गर्नुभयो । भवन हस्तान्तरणपछि पृतनापति उपरथी श्रेष्ठले सुरक्षित घरको सदुपयोगसँगै मर्मत सम्भारमा ध्यान दिन नगरपालिकालाई आग्रह गर्नुभयो ।

    ‘बाढीका बेला ज्यान जोगाउन सुरक्षित घरको धेरै महत्व हुन्छ’, उहाँले भन्नुभयो, ‘भविष्यमा पनि यस्तै प्रभावकारी कार्यक्रम सेनाले सञ्चालन गर्दै जानेछ ।’ उपरथी श्रेष्ठले तटीय क्षेत्रको बस्तीलाई प्राथमिकतामा राखेर सेनाले सुरक्षित घर निर्माण गरेको बताउनुभयो । 

    सेनाले सुरक्षित घर बनाइदिएपछि २०३९ सालदेखि बाढीको जोखिम मोलेर बस्दै आएका कुतियाकवरवासी खुसी भएका छन् । स्थानीय खड्के बुढाले भन्नुभयो, ‘बाढीका कारण धेरैले ज्यान गुमाएका छन्, सुरक्षित घरले मानवीय क्षति हुनबाट जोगिने आश छ ।’ बाढीका काण खेतीयोग्य जग्गा मासिदै गएको उहाँले बताउनुभयो । यसको दीर्घकालीन रुपमा समाधान हुने गरी सरकारले कटान नियन्त्रणको पहल गरिदिनुपर्ने बुढाको माग छ । 

    ४२ परिवारको बसोबास रहेको कुतियाकवर भारतीय सिमानासँग जोडिएको बस्ती हो । यो बस्ती २०२२ सालमा बसेको हो । कुतियाकवरका टङ्कलाल जोशीले नेपाली सेनालाई सेफ हाउस बनाउन १० धुर जमिन निःशुल्क उपलब्ध गराउनुभएको हो । झण्डै ६० जना अटाउने क्षमताको उक्त सेफ हाउस निर्माणका क्रममा सेनालाई दोधारा चादँनी नगरपालिका र केही निर्माण व्यवसायीले सहयोग गरेका थिए । यहाँ दातृ निकाय र नगरपालिकाको आर्थिक सहयोगमा सेफ हाउस निर्माण सुरु गरिए पनि त्यो अझै पूरा हुन सकेको छैन् ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?