१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

‘ड्रागन फ्रुट’ खेतीबाट प्रशस्त आम्दानी गर्दै ढकाल



  • आफ्नै खबर
  • १९ असार २०८१ मंगलबार (५ महिना अघि)
  • पाठक संख्या ९८
  • कैलाली/ राजनीतिसँगै ड्रागन फ्रुट खेतीमा लागेका कैलालीको लम्कीचुहा–१ का गणेश ढकाललाई यति बेला भ्याइनभ्याइ छ ।  राजनीतिसँगै उत्पादनसहितको आयआर्जनमा जोडिनुपर्छ भनेर उहाँले ३ वर्ष अघिदेखि ड्रागन फ्रुट खेती सुरु गर्नुभएको थियो । 

    यस क्षेत्रमा धेरैलाई ड्रागनखेती गर्नुपर्छ भन्ने थाहा थिएन । तर, विभिन्न माध्यमबाट उक्त खेतीबारे जानकारी पाएका ढकालले ३ वर्षअघि ७ लाख रुपैयाँ लगानी गरेर व्यवसाय सुरु गर्नुभएको थियो । उहाँले दाङ र बाँकेबाट ८ सय बिरुवा ल्याएर खेती सुरु गरेको बताउनुभयो । ती बिरूवाले यतिखेर प्रशस्त उत्पादन दिइरहेका छन् । 

    ‘भूमिपुत्र कृषि तथा पशुपक्षी फर्म ड्रागन पार्क’ नामक फार्म स्थापना गरेर ड्रागनको खेती सुरू गर्नुभएका ढकालले १ वर्षमै फल र बिरूवा बेचेर मनग्य आम्दानी भइरहेको बताउनुभयो । उहाँको फार्ममा ‘मलेसियन रेड’ प्रजाति (रातो फल) को ड्रागन लटरम्मै फलेको छ । साथै यो वर्षदेखि उहाँले ‘हाईब्रेड सि’ रेड प्रजाति (रातो फल) को ड्रागन फलसमेत लगाएको जानकारी दिनुभयो । 

    ढकालले भन्नुभयो, ‘यस क्षेत्रमा कसैले पनि ड्रागन खेती गरेका थिएनन् तर माग भने बढ्दो थियो, त्यसै कारण ३ वर्ष अगाडि व्यवसाय सुरुआत गरेँ । पहिलोपटक खेती गर्न लागेकाले सफल होला वा नहोला भन्ने अन्योल र चिन्ता थियो तर अहिले राम्रो आम्दानी दिइरहेको छ, यति छिटो आम्दानी देला भन्ने सोचैकै थिइन ।’ 

    पानी नजम्ने बलौटे माटोमा फल्ने ड्रागन फलले वैशाखदेखि कात्तिकसम्म फल दिने गरेको छ । स्वादिलो तथा पोषिलो यो फलको माग राम्रो रहेको थाहा पाएपछि यसतर्फ लागेका ढकालले वार्षिक ८ क्वीन्टलसम्म फलको कारोबार गरिसक्नुभएको छ । 

    उहाँले पहिलो वर्षमा ६० किलोग्राम फल बेचेर ४ लाख रुपैयाँ भन्दाबढी आम्दानी गरेको बताउनुभयो । दोस्रो वर्षमा ८ क्वीन्टल फल र १ हजार बिरुवा बेचेर ६ लाख रुपैयाँ आम्दानी गर्नुभएका ढकालले यो वर्ष १६ क्वीन्टल  फल र ३ हजार बिरुवा बिक्री गरी १२ देखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य रहेको सुनाउनुभयो ।

    बजारमा ड्रागन फल प्रतिकिलो ७ सय ५० रुपैयाँ पर्ने गरेको छ । तर, उहाँले बारीबाटै ६ सय ५० रुपैयाँमा बिक्री गरिरहनुभएको छ भने बिरुवा २ सय ५० रुपैयाँमा बेचिरहनुभएको छ । उहाँले ३ जनालाई रोजगारीसमेत दिनुभएको छ ।  

    ढकालले एउटा बोटमा ५ केजीसम्म फल लाग्ने गरेका र उत्पादित फल स्थानीय लम्की बजारका साथै धनगढी, नेपालगञ्ज र सुर्खेतसम्म पठाउने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय र जिल्लामा रहेका बजारका साथै टाढाबाट पनि माग आइरहेको छ । तर, सीमित उत्पादनका कारण मागपूर्ति गर्न सकेको छैन । खेती विस्तार गर्ने योजनाबारे सोच्दैछु ।’

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?