१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

आयल निगमको भण्डारणगृहका लागि जग्गा विकास सुृरु



  • आफ्नै खबर
  • २० असार २०८१ बुधबार (५ महिना अघि)
  • पाठक संख्या १०९
  • रुपन्देही/ नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया तीव्रगतिमा अघि बढाएको छ । ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रमा रहेको रोहिणी खोला किनारमा धमाधम तटबन्ध निर्माणसँगै जमिन सम्याइँदै छ । 

    हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको निर्माणमा संलग्न इन्जिनियर हीरामणि खनालले जानकारी दिनुभयो । पछिल्लो ५० वर्षको बाढीको अवस्थालाई आकलन गरेर रोहिणी खोलामा तटबन्धको काम अघि बढाइएको उहाँले बताउनुभयो । निगमले भण्डारण निर्माण गर्न लागेको जग्गाको उत्तर र पश्चिममा रोहिणी खोला बगेको छ । उत्तरतर्फ ‘रिटेनिङ वाल’ लगाइएको छ भने पश्चिमतर्फ ग्याबिन पर्खाल लगाइएको छ ।

    प्रारम्भिक चरणमा ७ वटा ‘प्याकेज’ बनाएर बोलपत्र आह्वान गरिएको छ । काठमाडौँको शुभश्री सर्वश्री जेभीले पहिलो र दोस्रो, वीरगञ्जको उज्यालो निर्माण सेवाले तेस्रो तथा प्रिजन कन्ट्रक्सनले बाँकी ४ वटा प्याकेजको ठेक्का पाएको छ । करिब ८ करोड रुपैयाँमा ती ठेक्का लगाइएको हो ।

    भण्डारणगृह निर्माणस्थलमा पर्खाल लगाउने र जमिन पुर्ने कार्य यही असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । खोला किनारमा ग्याबिन लगाउँदा वर्षात्को पानीले अप्ठयारो पारेको इन्जिनियर खनालले बताउनुभयो । रोहिणी खोलाको समानान्तर ७ मिटर उचाइको ग्याबिन पर्खाल र उत्तरतर्फ ४.५ मिटरको रिटेनिङ वाल लगाइनेछ ।

    तटबन्ध निर्माण तथा जग्गा पुर्ने कामलाई निर्धारित समयभित्रै सम्पन्न गर्न दैनिक २ सिफ्टमा काम भइरहेको छ । पहिलो सिफ्टमा बिहान ६ देखि ११ र दोस्रो सिफ्टमा साँझ ५ देखि ११ बजेसम्म निर्माणका काम चलिरहेको छ । ग्याबिन लगाउने तथा जग्गा पुर्ने काममा दैनिक २ सय कामदार खटिइएका छन् ।

    ७ वटा प्याकेजमध्ये जमिन पुर्ने काम सुरुआती चरणमा रहेको छ । प्याकेज नं ४ र ५ अन्तर्गत ग्याबिन पर्खाल निर्माणको भौतिक प्रगति ७० प्रतिशत हाराहारी पुगेको उहाँले बताउनुभयो । प्याकेज नं ३ को भौतिक प्रगति न्यून छ । प्याकेज १ र २ को एउटै ठेकेदार भएकाले काम सुस्त भइरहेको इन्जिनियर खनाल बताउनुहुन्छ ।

    रुपन्देहीको भलबारी डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले परासी–भैरहवा सडक खण्डमा खरिद गरिएको करिब १४ बिघा जग्गामा नयाँ भण्डारणगृह निर्माण गर्न लागिएको निगमले जनाएको छ । सो भण्डारणले लुम्बिनी प्रदेशको २० दिनको माग धान्नेछ । निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा भण्डारणगृह निर्माण गर्दै आएको छ ।

    ३ अर्ब रुपैयाँ लागतमा भण्डारणगृह निर्माण गरिने भण्डारणगृह निर्माण परियोजनाका संयोजक इन्जिनियर प्रदीप यादवले जानकारी दिनुभयो । उक्त स्थानमा डिजेल भण्डारणका लागि २ हजार १ सय किलोलिटर क्षमताका ३, पेट्रोल भण्डारणका लागि १ हजार ६ सय किलोलिटर क्षमताका २ र मट्टितेल भण्डारणका लागि ७० किलोलिटरका ३ वटा ट्याङ्क निर्माण गरिनेछ ।

    भण्डारणगृह निर्माण भएसँगै हालको भलबारी डिपो रोहिणी खोला किनारमा सर्नेछ । उहाँले असोजभित्र परियोजनाको ‘डिजाइन’ सम्पन्न गरिने जानकारी दिनुभयो । परियोजनाको डिजाइन काठमाडौँ विश्वविद्यालयले गरिरहेको छ । आगामी मङ्सिरमा भण्डारणगृह निर्माणको शिलान्यास गर्ने र २०८३ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?