१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

ज्येष्ठ नागरिकलाई घरमै  स्वास्थ्य सेवा



  • आफ्नै खबर
  • २० असार २०८१ बुधबार (५ महिना अघि)
  • पाठक संख्या ७४
  • काभ्रेपलाञ्चोक/  नमोबुद्ध नगरपालिकाले ‘ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम’अन्तर्गत ७० वर्षमाथिका ६ हजारभन्दा बढी ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नगरका स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा जनप्रतिनिधि, कर्मचारीलगायतको सहयोगमा ६ हजार ६५ ज्येष्ठ नागरिकलाई टोलटोलमै स्वास्थ्य सेवा प्रदान गरिएको हो ।

    नगरको ११ वटा वडाका ६३ टोलमा १ हजार ५ सय ३५ को रक्तचाप मापन, १ हजार ४ सय ८३ को मधुमेह जाँच, ८ सय ६० को अन्य जाँच गर्नुका साथै ७ सय ५२ जनालाई निःशुल्क औषधि वितरण गरिएको नगर स्वास्थ्य शाखा प्रमुख सुनिल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार १ हजार ४ सय ३५ जनालाई परामर्श प्रदान गरिएको छ ।

    ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरी ज्येष्ठ नागरिकलाई घरदेलौ र पायक पर्ने स्थानमा स्वास्थ्य सेवा प्रदान गरेको र यस कार्यक्रमलाई निरन्तरता दिइने नगर प्रमुख कुनसाङ लामाले बताउनुभयो । उहाँले ज्येष्ठ नागरिक वर्ग, पूर्ण अशक्त वर्ग र अति विपन्न वर्गलाई लक्षित गरी स्वास्थ्य उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा, मासिक घुम्ती स्वास्थ्य परीक्षण शिविर सञ्चालन, निम्न आयस्तर भएका र अति विपन्न वर्गको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । 

    यसअघि नगरले १८ वर्षमाथिका सम्पूर्ण नगरवासीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो । नसर्ने रोगको वृद्धिदर बढ्दै गएको जनाउँदै नगरले रक्तचाप, मधुमेह (सुगर), अल्कालीन, प्रोटिन परीक्षण गरी मेथिनकोट अस्पतालबाट थप परीक्षण गराई १ वर्षसम्म निःशुल्क औषधि वितरण गरेको थियो ।

    यसैबीच नमोबुद्ध नगरले चालु आर्थिक वर्षमा पूर्ण खोप सुनिश्चित नगर घोषणा गरेको छ । चालु आवको गत चैत मसान्तसम्मको अवधिमा १५ महिनामुनिका २ सय ३६ बालबालिका र १६ देखि ५९ महिनासम्मका २ सय ३७ जना बालबालिकाले १६ महिनादेखि २३ महिनासम्मका बालबालिकाले पाउनुपर्ने खोप लगाएको सुनिश्चित भएपछि सोमबार खोप सुनिश्चित नगर घोषणा गरिएको हो । 

    बालबालिकाले १६ महिनासम्ममा पाउनुपर्ने खोप सो अवधिमा नपाएको भए २३ महिनासम्ममा पूरा गरिन्छ । यसअघि विभिन्न मितिमा नगरका सबै वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको थियो ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?