१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन



  • आफ्नै खबर
  • २० असार २०८१ बुधबार (५ महिना अघि)
  • पाठक संख्या ७१
  • काठमाडौं/  मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नेपालमै पहिलोपटक काखीमुनि सानो प्वाल पारेर मुटुको कृत्रिम भल्ब परिवर्तन गरिएको छ । सेन्टरका कार्डियो तथा भास्कुलर विभागका प्रमुख डा. अनिल भट्टराईको नेतृत्वमा पोखराकी ५३ वर्षीया महिलाको काखीमुनि सानो प्वाल पारेर (मिनिमल इनाभासिभ कार्डिया सर्जरी प्रविधि) माइट्रल भल्ब परिवर्तन गरिएको हो । 

    डा. अनिल भट्टराईले १ साताअघि मुटुको भल्ब परिवर्तन गरिएको बिरामीको अवस्था सामान्य रहेको जानकारी दिनुभयो । यसअघि छाती चिरेर मुटुको भल्ब परिवर्तन गरिँदै आएको थियो । 
    ‘अलि जटिल खालको शल्यक्रिया हो तर हामीसँग सबै उपकरण थियो र सजिलै शल्यक्रिया गरेर माइट्रल भल्ब परिवर्तन ग¥यौँ’, उहाँले भन्नुभयो, ‘हामीले केही दिन बिरामीलाई राखेर ‘डिस्चार्ज’समेत गरिसकेका छौँ ।’ उक्त कृत्रिम भल्ब अमेरिकाबाट ल्याइएको थियो । 

    डा. भट्टराईले इटालीबाट आफूले उक्त प्रविधिबाट मुटुको भल्ब परिवर्तन गर्नेबारे अध्ययन गरेर आएको बताउनुभयो । मुटुमा ४ वटा भल्ब हुन्छन् । तीमध्ये बिरामीको माइट्रल भल्ब बिग्रेपछि नयाँ भल्ब हालिएको हो । ‘छाती चिर्नुभन्दा काखीमा सानो प्वाल बनाएर गरिने शल्यक्रियाले बिरामीलाई धेरै सहज हुन्छ’, उहाँले भन्नुभयो, ‘ठूलो घाउ हुँदैन । रगत पनि धेरै बग्दैन । चाँडै सञ्चो हुन्छ र बिरामी घर पनि चाँडै जान्छन् ।’

    उहाँका अनुसार उक्त प्रविधिबाट भल्ब परिवर्तन गर्न भारतमा २४ लाख रुपैयाँ लाग्छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले उक्त प्रविधिबाट भल्ब परिवर्तन गर्न ७ लाख रुपैयाँ लाग्ने जनाएको छ ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?