१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

जिल्ला भेटेरिनरीले किसानलाई दियो ‘मिल्क एनलाइजर मेसिन’



  • आफ्नै खबर
  • २१ असार २०८१ बिहिबार (५ महिना अघि)
  • पाठक संख्या ५८
  • गुल्मी/  भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले किसानलाई ‘मिल्क एनलाइजर’ (दूधको शुद्धता र गुणस्तर मापन गर्ने) मेसिन प्रदान गरेको छ । केन्द्रले पशुपक्षी तथा मत्स्य प्रविधि प्रदर्शनअन्तर्गत धुर्कोट गाउँपालिका–५ का व्यावसायिक किसान रवीन्द्र घिमिरेलाई उक्त मेसिन प्रदान गरेको हो ।

    काठमाडौँमा स्नाकोत्तर तह अध्ययन पूरा गरेपछि गाउँ फर्केर ३ वर्षदेखि घिमिरे व्यावसायिक रूपमा कृषि कर्ममा लाग्नुभएको छ । गाउँमै केही गर्नुपर्छ भन्ने सोचका साथ काठमाडौँबाट गाउँ फर्किएको उहाँले बताउनुभयो । उहाँले उन्नत जातका भैँसीपालनबाट दैनिक ४ सय लिटर दूध सङ्कलन गरी बिक्री गरिरहेको जानकारी दिनुभयो ।  

    स्थानीय उपभोक्ता, सङ्कलक र उत्पादकलाई थप सहयोग पु¥याउने उद्देश्यले किसानलाई ‘बायोकेमिकल मिल्क एनलाइजर मेसिन’ उपलब्ध गराइएको केन्द्रका प्रमुख हुमकान्त पाण्डेयले बताउनुभयो । उहाँका अनुसार उक्त मेसिनबाट दूधको शुद्धतासँगै दूधमा पाइने प्रोटिन, लैक्टोज (दूधमा पाइने चिनीको मात्रा), पानीको मात्रा लगायत अन्य तत्व र गुणस्तर मापन गर्न सकिने छ ।

    उक्त मेसिनबाट किसानलाई दूधको मूल्य निर्धारण गर्न र गुणस्तर मापन गर्न सजिलो हुने पशु चिकित्सक डा. नवीना ढकालले बताउनुभयो । दूधमा पानी र स्टार्च (माड) लगायत तत्वको मिसावट हुनेभएकाले दूधको गुणस्तर सुनिश्चित गर्न मेसिन उपयोगी हुने उहाँको भनाइ छ ।

    गुल्मीमा हालसम्म पाँच स्थानमा मिल्क एनलाइजर वितरण गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–८ मा रहेको बस्नेत डेरी उद्योग, सत्यवती गाउँपालिका–६ मा रहेको श्रीकृष्ण डेरी पकेट समूह, सत्यवती गाउँपालिका–५ अन्तर्गत सत्यवती दुग्ध उत्पादक सहकारी संस्था र रुरु क्षेत्र गाउँपालिकाको बम्घा दुग्ध उत्पादक सहकारीलाई मिल्क एनलाइजर वितरण गरिएको कार्यालय प्रमुख पाण्डेयले जानकारी दिनुभयो ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार जिल्लामा वार्षिक रूपमा २२ हजार २ सय ५८ मेट्रिक टन दूध उत्पादन हुँदै आएको छ । जिल्लामा उत्पादित दूधमध्ये ८० प्रतिशत जिल्लामै खपत हुने गर्दछ भने बाँकी २० प्रतिशतमात्र बिक्री हुने गरेको पाण्डेयले जानकारी दिनुभयो ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?