१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

काठमाडौँ–तराई/मधेश द्रुतमार्ग : छिचोलियो लेनडाँडा सुरुङमार्ग



  • आफ्नै खबर
  • २१ असार २०८१ बिहिबार (५ महिना अघि)
  • पाठक संख्या १३९
  • काठमाडौं  काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गतको निर्माणाधीन लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ ।  नेपाली सेनाका अनुसार द्रुतमार्ग योजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन सुरुङमार्ग बिहीबार छिचोलिएको हो ।

    निर्माणाधीन लेनडाँडा जोडी सुरुङ (ट्वीन ट्युब टनेल)मध्ये निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग छिचोलिएको सेनाले जनाएको छ । छिचोलिएको सुरुङमार्गको लम्बाइ एक हजार ६१२ मिटर छ ।

    सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माले भर्चुअल माध्यममार्फत सुरुङमार्ग छिचोल्ने कार्यक्रम अवलोकन गर्नुभएको थियो । सो अवसरमा प्रधान सेनापतिले तोकिएको समयमानै सुरुङमार्गहरु  छिचोलिने क्रम रहेकोमा खुसी व्यक्ति गर्नुहुँदै नेपाल सरकारबाट नेपाली सेनालाई जिम्मेवारी प्राप्त राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिनुभएका सम्पूर्ण निकाय तथा व्यक्तिहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मेहनत र कार्यदक्षताको प्रशंसा गर्नुहुँदै तोकिएकै समयमा आयोजना सम्पन्न गर्न समेत निर्देशन दिनुभयो ।

    त्यस्तै यसअघि जेठ ४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौँबाट निजगढतर्फ जाने १ हजार ६३३ मिटर लम्बाइको सुरुङमार्ग र जेठ ११ गते धेद्रे सुरुङमार्गको जोडी सुरुङ ट्वीन ट्युब टनेलमध्ये १ हजार ६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्गहरु छिचोलिएका थिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?