१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

विद्यार्थी २, शिक्षक पनि २ : प्रअ भन्छन् ‘दिन बिताउन साह्रै गाह्रो भयो’



  • आफ्नै खबर
  • २२ असार २०८१ शुक्रबार (५ महिना अघि)
  • पाठक संख्या ७४
  • बागलुङ/  बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसमा रहेको ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो ३ वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ । हाल उक्त विद्यालयमा २ जना छात्रमात्र अध्ययनरत छन् । उनीहरूमध्ये १ जना कक्षा १ र १ जना कक्षा ३ मा अध्ययन गर्छन् । कक्षा २ मा भने विद्यार्थी नै छैनन् ।

    स्थानीयवासी सुविधाको खोजीमा अन्यत्र बसाइँ सरेपछि विद्यालयमा विद्यार्थी आउन छाडेका प्रधानाध्यापक गोविन्द अधिकारीले जानकारी दिनुभयो  । २०८० सालमा ३ जना हुँदै नयाँ शैक्षिकसत्रमा २ जनामा सीमित भएको छ ।  उहाँका अनुसार २०४६ सालमा स्थापना भएर २०४७ सालमा अनुमति पाएको विद्यालयमा २०७८ सालसम्म ११ जना विद्यार्थी थिए ।

    २०७९ सालमा त्यो सङ्ख्या १० जनामा झर्यो । विद्यालयमा १ जना स्थायी दरबन्दीको शिक्षक, १ अस्थायी र १ जना कार्यालय सहयोगी कार्यरत छन् । बर्सेनि विद्यार्थीको सङ्ख्या घट्दै गएपछि विद्यालयको अस्तित्व नै धरापमा परेको छ । ३५ वर्ष अगाडि स्थापित विद्यालयमा दशक अगाडि विद्यार्थीको चाप हुँदा भुइँमै बसेर पढ्नुपर्ने बाध्यता थियो । तर अहिले भौतिक रूपमा सम्पन्न भएपनि विद्यार्थीको सङ्ख्या निकै कम भएका छन् ।

    किन घटे बिद्यार्थी ?
    धुसगाउँ भौगोलिक हिसाबले अलि विकटमा रहेको र धेरैले आफ्ना बालबालिका सुविधायुक्त विद्यालयमा पठाउँदा विद्यार्थी कम भएको प्रअ अधिकारी बताउनुहुन्छ । गाउँभन्दा नजिकै गुल्मीको पुर्तिघाटमा निजी विद्यालय रहेको र गाडीले घर नजिकै लिन आउँदा धेरै विद्यार्थी त्यता जान थालेको उहाँ बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, ‘विद्यार्थी कम हुँदा शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बन्न नसकेकोले आफूहरूमा नैराश्य छाएको छ ।  पछिल्लो समय गाउँमा बालबालिका पनि कम छन् । भएका पनि सहरबजार जाने प्रचलन बढेको छ । हामी त जागिर खानका लागि यहाँ आइयो विद्यार्थी धेरै नहुँदा सिक्न र सिकाउन पाइएको छैन, दिन बिताउन साह्रै गाह्रो हुन्छ, पहिलेको जस्तो भुइँमा बसेर पढ्नुपर्ने अवस्था छैन, धेरै सुविधा थपिएको छ ।’ 

    खासगरी यस गाउँका स्थानीय बसाइँसराइ गरी चितवन, रुपन्देही गएका छन् । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले विद्यालयको भौतिक संरचनादेखि अन्य व्यवस्थापन गरेको तर धेरै विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गएको बताउनुभयो । नगरपालिकाले कम विद्यार्थी भएको विद्यालयलाई समायोजन गर्ने नीति रहेको उहाँले जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, ‘नगरपालिकाले नगर शिक्षा ऐन बनाएको, त्यसअन्तर्गत रहेर दरबन्दी मिलान अगाडि बढाएको, विद्यालय समायोजनसम्बन्धी कार्यविधि बनाएर काम अगाडि बढेको छ । विद्यालय समायोजनपछि नगरपालिकाले सञ्चालन गरेको ‘लिड’ विद्यालयमा टाढाका विद्यार्थीलाई आवासीय सुविधा प्राप्त हुनेछ ।’ 

    जैमिनी नगरपालिकाका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले ताराज्योति प्राथमिक विद्यालयलाई छिट्टै समायोजन गर्ने जानकारी दिनुभयो । नगरपालिकाले कुन विद्यालय समायोजन गर्ने, कुन तह मिलान गर्ने भन्ने विषयमा अध्ययन गरिसकेको उहाँले बताउनुभयो ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?