१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

बाढी पहिरो : अर्घाखाँची, सिमिकोट र गुल्मीको थप अपडेट

पहिराले गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध, छारेमा दैनिक यातायात  सञ्चालन, गुल्मीमा पहिरामा पुरिएकी महिलाको जीवितै उद्धार



  • आफ्नै खबर
  • २३ असार २०८१ शनिबार (५ महिना अघि)
  • पाठक संख्या ५६
  • पहिराले गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध
    अर्घाखाँची :  वर्षासँगै आएको पहिराले गोरुसिङ्गे सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ । सन्धिखर्क–६ दहखोला र बहोखरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीतसिंह राठोरले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो पन्छाउने कार्य भइरहेको छ ।

    घुम्तीदेखि पत्थरकोटसम्मको बाटो एकतर्फि खोलिएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण थप पहिरो जान सक्ने जोखिम कायमै रहेकोले सतर्क रहन प्रहरीले अनुरोधसमेत गरेका छ । सो सडक अवरुद्ध भएकाले फुद्बांगबाट बलेबांग हुँदै पाली र पालीबाट घुम्ती गएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ । 

    छारेमा दैनिक यातायात  सञ्चालन
    हुम्ला : कर्णाली करिडोर अन्तर्गत हुम्लाको छारे खण्डको सडकमा दैनिक यातायात सेवा सञ्चालनमा आउन थालेको छ । दैनिक यातायात सञ्चालन गर्न जिल्लास्तरीय समितिले निर्णय गरेको थियो ।  नेपाली सेना, कर्णाली करिडोर निर्माण कार्यदल कालिकोटले हुम्लाको छारे खण्डमा यातायात सेवा सञ्चालन गर्न अनुमति दिएको हो । 

    यसअघि सो सडक खण्डमा बिहान ७ बजेदेखि ९ बजेसम्म र दिउँसो ११ बजेदेखि १ बजेसम्म मात्र यातायातका साधन सञ्चालन हुन दिने व्यवस्था मिलाइएको थियो ।  हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले  यही असार अन्तिमसम्म सेनाले दुल्लीको कुनादेखि लाली बगरसम्मको सडक निर्माण गरेर हस्तान्तरण गर्ने जानकारी दिनुभयो ।  

    गुल्मीमा पहिरामा पुरिएकी महिलाको जीवितै उद्धार
    गुल्मी : जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी  महिलालाई जीबितै उद्धार गरिएको छ । 

    घर माथिबाट अचानक पहिरो जाँदा  पुरिएकी रुरुक्षेत्र –३ की उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो । उहाँले घाइते विकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी लागिएको बताउनुभयो ।  

    -रासस

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?