कोशी ब्यारेजका सबै ५६ ढोका खोलिए
सुनसरी : पूर्वी पहाडी भेगमा निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी स्थानीय प्रशासनले कोसी ब्यारेजमा सबै ५६ वटा ढोका खोलेको छ ।
प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार ब्यारेजमा प्रतिघण्टा ३ लाख ६८ हजार क्युसेकभन्दा बढी पानी प्रवाह भएपछि सबै ढोका खोलिएका हुन् ।
नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको सङ्केत दिन रातो बत्ती बालिएको छभने राता झण्डा फहराइएका छन् ।
सप्तकोसी जलमापन केन्द्रले जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गर्नुभएको छ
बलान नदीमा फसेका ६ किसानको उद्धार
सप्तरी : बलान नदीमा आएको बाढीमा फसेका ५ किसानको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले २४ गाईवस्तुसँगै उनीहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गजुसिद्दी बज्राचार्यले जानकारी दिनुभयो ।
सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीको खेतमा धान रोप्न गएका किसान बाढीमा फसेका थिए । २ दिनदेखि लगातार भइरहेको वर्षाका कारण बलान नदीमा पानीको बहाव बढेको छ । सो क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
मार्तडी–कोल्टी सडक ५ दिनदेखि बन्द
बाजुरा : जिल्लाको पूर्वीउत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक ५ दिनदेखि बन्द छ । लगातारको वर्षाका कारण बडिमालिका नगरपालिका–७ जिल्लीमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी देव चौधरीले जानकारी दिनुभयो ।
वर्षाका कारण पहिरो बग्न थालेपछि मार्तडी–कोल्टी चल्ने जिप तथा मालवाहक सवारीसाधन ठप्प छन् । कोल्टी क्षेत्रमा सञ्चालन हुँदै आएका सवारीसाधन बन्द भएपछि आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ । मार्तडी–कोल्टी सडक वर्षायाममा प्रायः अवरुद्ध हुने गरेको छ ।
साँफे–मार्तडी राजमार्ग अवरुद्ध
लगातारको वर्षाका कारण साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । वर्षाका कारण ठाउँठाउँमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो ।
राजमार्गको सेराबगर, हड्डेखोला र जिल्ला कारागार नजिकै पहिरो गएको छ । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन र मालवाहक गाडी बाटोमै थन्किएका छन् । राजमार्ग अवरुद्ध भएपछि धनगढी, महेन्द्रनगर र नेपालगञ्जबाट आएका बस बाटोमै रोकिएका छन् । पहिरो हटाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
राप्तीमा बेपत्ता २ जनाको शव फेला
दाङ : राप्ती नदीमा बगेर बेपत्ता भएका २ जनाको शव फेला परेको छ ।
शनिबार राप्तीमा आएको बाढीले लमही नगरपालिका–७ नयाँबस्तीका ६२ वर्षीय मणिराम चौधरी लमही नगरपालिका–८ बगरापुर गाउँबाट बेपत्ता भएका थिए । उनको शव आज खोलाको बगरमा फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान लमही नगरपालिका–७ हस्नापुर घाटबाट राप्ती नदीको बाढीमा बगेर बेपत्ता भएका राजपुर गाउँपालिका–२ बेलाका १७ वर्षीय राजकुमार यादवको शव फेला परेको छ । उनको शव खोलाको बगरमा फेला परेको हो ।
हस्नापुर घाटबाट राजपुर गाउँपालिका–२ का ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको भने सशस्त्र प्रहरी बल नेपाल नं ४१ रिजर्भ गण अर्जुनखोलाबाट खटिएको टोलीले सकुशल उद्धार गरेको थियो ।
सिद्धार्थ राजमार्ग भासियो
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–११ तुल्सीभञ्ज्याङमा सिद्धार्थ राजमार्ग भासिएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाले तुल्सीभञ्ज्याङस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको झण्डै ५० मिटर सडक भासिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार गए राति सडक भासिएको हो । सडक भासिएपछि सवारीसाधन बीच बाटोमै थन्किएका छन् । वर्षा निरन्तर रूपमा भइरहेकाले सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने क्रम रोकिएको छैन । ग्रामीण क्षेत्रका सहायक मार्ग पनि वर्षासँगै पहिरो आएकाले अवरुद्ध छन् ।
विद्युत् अवरुद्ध हुँदा सेवाग्राही अन्धकारमा
शनिबार बिहानदेखि विद्युत् अवरुद्ध हुँदा बुटवल पावर कम्पनीका ४० हजार सेवाग्राही मर्कामा परेका छन् । शुक्रबारदेखिको अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीका कारण विद्युत् सेवा अवरुद्ध भएको छ । स्याङ्जाको गल्याङमा रहेको बुटवल पावर कम्पनी (बिपिसी)को आँधीखोला जलविद्युत् आयोजनाको बाँधस्थलमा क्षति पुर्याएपछि शनिबार बिहान ८ बजेदेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।
आँधीखोलाको माथिल्लो भेगमा भारी वर्षा भएसँगै आँधीखोलामा पानीको सतह बढ्न गई पानी सङ्कलन पोखरीमा ढुङ्गा, गिट्टी, बालुवा भरिएको बुटवल पावर कम्पनी आँधीखोला जलविद्युत् केन्द्र गल्याङका प्रमुख डोल खरेलले बताउनुभयो । ‘खोलामा पानीको सतह बढिरहेकाले अहिले पानी सङ्कलन गरिएको पोखरी सफा गर्न सक्ने अवस्था छैन’, उहाँले भन्नुभयो, ‘खोलामा पानीको सतह घटेपछि पोखरी सफा गरेर मात्र टनेलमा पानी पठाउँछौँ ।’
गल्याङको आँधीखोलाबाट उत्पादन भएको ९.४ मेगावाट विद्युत् स्याङ्जाको दक्षिणी भेग, पाल्पाको पूर्वी भेगका रामपुर नगरपालिका, रम्भा गाउँपालिका, गुल्मी जिल्लाका केही भेग र पर्वतको केही भेगमा विद्युत् अवरुद्ध छ । स्याङ्जाको वालिङ–६ मिर्दी बजार नजिकै वितरण लाइनको पोल बाढीले ढलाएको छ । मर्मत गर्न प्राविधिक र उपकरण तयारी अवस्थामा राखिए पनि सडक अवरुद्धका कारण सम्भव नभएको उहाँले बताउनुभयो ।
बाढीले मुस्ताङको घमीमा नहर र पुल बगायो
मुस्ताङ : बाढीले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीमा नहर र काठेपुल बगाएको छ । लगातारको झरीसँगै घमीखोलामा आएको बाढीले घमी सिँचाइ आयोजनाको मुहान, नहर र घमीबाट ढाकमर जाने बाटोमा राखिएको काठको पुल बगाएको हो ।
लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष थुक्तेनछिरिङ गुरुङले सिँचाइ आयोजनाको मुहानसहित करिब २० मिटर नहर बाढीले बगाएको बताउनुभयो । काठको पुल बगाएपछि घमी र ढाकमरका बासिन्दा आवतजावत गर्न खोलामा जोखिम मोलेर जङ्घार तर्नुपर्ने अवस्था छ । ढाकमर गाउँमा ५७ परिवारको बसोबास छ । घमी वडाको केन्द्र हो ।
नहर बगाउँदा घमीको १ हजार २ सय रोपनीभन्दा बढी जमिनमा सिँचाइको समस्या भएको छ । स्याउ, उवा, जाँै र फापर बालीमा सिँचाइ गर्न समस्या भएको छ ।
लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोम्साङ छोम्फेल विष्टले विपद् व्यवस्थापन कोषबाट खर्च गर्ने गरी नहर र पुल मर्मतको काम तत्कालै सुरु गरिने बताउनुभयो ।
नारायणी नदीको बाढीले झोलुङ्गे पुल बगायो
चितवन : नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका–३ स्थित झोलुङ्गे पुल बगाएको छ । न्यूरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको हो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गए राति ११ः३० बजे बाढीले दुवैतर्फको पिल्लर भत्काई पुल बगाएको हो । नारायणीमा पानीको बहाव नघटेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सावधानी अपनाउन उहाँले अनुरोध गर्नुभएको छ ।
शनिबार परेको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दा १ सय ७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । शनिबार राति आएको नारायणीको बाढीका कारण घरमा पानी पसेकाले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी यादवका अनुसार भरतपुर महानगरपालिका–२ का २६ जना, बालकुमारी नर्सिङ कलेजको भवनमा बस्ने ४ जना, भरतपुर–१७ गोब्रेनीका ५४, वडा नं १ देवघाटको नदी किनारमा बस्दै आएका २८ तथा वडा नं १६ गुम्बाचोकका ५९ जनालाई सुक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उनीहरूलाई सुरक्षाकर्मीले डुङ्गाको सहायताले स्थानान्तरण गरेको हो ।
-रासस
प्रतिक्रिया दिनुहोस