बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध
बागलुङ : अबिरल वर्षासँगै खसेको पहिरोले बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर मालढुङ्गा–जोमसोम सडकको विकल्पको रुपमा रहेको उक्त सडकको बागलुङ खण्ड अवरुद्ध भएको हो ।
बागलुङ नगरपालिका–४ बान्द्रेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो ।
यादवका अनुसार सडक डिभिजन कार्यालय बागलुङको सहयोगमा सडक खुलाउन पहल भइरहेको छ । कालीगण्डकी करिडोरको मालढुङ्गा–बेनी–जोमसोम सडक स्तरोन्नति भइरहेकाले मुस्ताङ जाने यात्रु तथा पर्यटकले उक्त सडक प्रयोग गर्दै आइरहेका थिए ।
महाकाली लोकमार्ग बन्द भएपछि यात्रु अलपत्र
दार्चुला : बिहीबारदेखि लगातार परेको वर्षाका कारण महाकाली लोकमार्गको खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । सडक बन्द भएपछि सयौँ यात्रु बाटोमै अलपत्र परेका छन् । खलङ्गा–गोकुलेश्वर सडकखण्डको पनेबाजदेखि ऐरिछानासम्म ठाउँ ठाउँमा पहिरो खसेको छ ।
पहिराको कारण आइतबार जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन बाटोमै थन्किएका छन् । दार्चुलाबाट महेन्द्रनगर, धनगढी, काठमाडौँलगायतका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन् । लोकमार्गमा छोटो दूरीका सवारीसाधनसमेत सञ्चालन हुन नसकेका सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिनुभयो ।
आज बिहानैदेखि सडक डिभिजन कार्यालय पाटनले पहिरो पन्छाउने काम गरिरहेको छ । लगातारको वर्षाका कारण लोकमार्ग खुलाउन समस्या भएको उहाँले बताउनुभयो । दार्चुलामा चार दिनदेखि पानी परिरहेको छ ।
भारतले धौलीगङ्गा बाँध खोल्दै, सतर्कता अपनाउन आग्रह
यसैबीच भारतले उत्तराखण्ड प्रान्तको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्न लागेको जनाएको छ । यही असार २९ गतेदेखि असार ३० गतेसम्म उक्त बाँधका ढोका खोलिने एनएचपीसी लिमिटेड र धौलिगङ्गा आयोजनाले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको पत्रमा उल्लेख छ ।
बाँधको ढोका खोलेका बेला महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो । सरसफाइका लागि बाँधको ढोका खोल्न लागिएको उहाँले बताउनुभयो । बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।
दार्चुलादेखि बैतडी, डडेल्धुरा र कञ्चनपुर भएर बग्ने महाकालीमा पानीको बहाव बढ्न सक्ने भएका कारण नदी छेउछाउ नजान र सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ । यसअघि यही सार १५ गते पनि उक्त बाँधको ढोका खोलिएका थिए ।
महाकालीमा पानीको बहाव बढ्यो, सवारीसाधन चलाउन बन्देज
कञ्चनपुर : महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ ।
महाकाली नदीमा पानीको बहाव १ लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो । साना सवारीसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिनुभयो । आज बिहान ७ बजे महाकाली नदीमा गरिएको मापनअनुसार अहिले पानीको बहाव १ लाख ६४ हजार ६ सय ६० क्युसेक रहेको छ ।
‘शनिबार बेलुकी ४ बजेदेखि नै पानीको बहाव बढेपछि बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाइएको छ’, उहाँले भन्नुभयो । शनिबार साझँ महाकालीमा १ लाख ५ हजार क्युसेक पानी मापन गरिएको थियो । बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाउपछि पश्चिमीनाका गड्डाचौकी हुँदै नेपाल–भारत आवतजावत गर्ने यात्रु मर्कामा परेका छन् ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सूचना जारी गर्दै यहाँका नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गर्नुभएको छ । केन्द्रीय विपद् व्यवस्थापन महाशाखाका अनुसार कञ्चनपुर र कैलालीमा भारी वर्षा हुने सम्भावना छ । यहाँ शनिबार बिहानैदेखि लगातार वर्षा भइरहेको छ ।
पहिरोमा पुरिएकी महिलाको शव भेटियो, २ जनाको खोजी गरिँदै
तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा पुरिएकामध्ये १ महिलाको शव भेटिएको छ । अन्य २ जनाको खोजी जारी छ । पहिरोमा पुरिएकी ४० वर्षीया हीरा नेपालीको शव गए राति भेटिएको हो ।
पहिरोमा परी बेपत्ता ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो । बेपत्ताको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन् ।
हीरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा उनीहरु पहिरोमा पुरिएका थिए । पहिरोमा परी ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीया रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन् । घाइतेको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।
वर्षाले ग्रामीण सडक अवरुद्ध
शुक्रबारदेखि परेको वर्षाका कारण तनहुँका मुख्य तथा ग्रामीण सडक अवरुद्ध भएका छन् । शनिबार पहिरो गएपछि विभिन्न ठाउँका सडक अवरुद्ध भएका हुन् । भिमाद नगरपालिका–२ हुँदै जाने विभिन्न सडक पहिराका कारण अवरुद्ध भएको वडाध्यक्ष दिनेशकुमार थापाले जानकारी दिनुभयो । भिमकाली, मिर्दी, किहुँ, उत्तरदक्षिण, बिरुवा, खुदेपानी, धरमपानी हुँदै बडहरभञ्ज्याङ तथा भित्री सडक वर्षाका कारण अवरुद्ध भएका छन् ।
यस्तै घिरिङ गाउँपालिका–२ बैडी सडकखण्ड पनि पहिरोले अवरुद्ध छ । शुक्लागण्डकी नगरपालिका–५ पाटनमा पहिरो खसेपछि उक्त खण्ड अवरुद्ध भएको छ । प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार पानी परिरहेकाले पहिराको जोखिम कायमै रहेको छ ।
उहाँले भन्नुभयो, ‘सडक खुलाउने प्रयास भइरहेको छ । पोखरा आउजाउ गर्न वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छौँ ।’ दमौलीबाट पोखरा जान भोर्लेटारचोकबाट कलेस्ती, दुइपिप्ले, पोल्याङ, राजाको चौतारा हुँदै जान सकिन्छ ।
पृथ्वीराजमार्गको शेराखण्ड १२ घण्टामा खुल्यो
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा कल्भर्ट बगाएर अवरुद्ध भएको सडक १२ घण्टापछि खुलेको छ । शनिबार दिउँसो ४ बजे वर्षाका कारण फेदीखोलामा आएको बाढीले कल्भर्ट बगाउँदा अवरुद्ध भएको उक्त खण्ड आज बिहान ४ः५५ बजेदेखि सञ्चालनमा आएको हो ।
खोलाले बगाएको ठाउँमा पुनः कल्भर्ट राखेर सवारीसाधन सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब निरीक्षक सन्तोष पौडेलले जानकारी दिनुभयो ।
पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला
नवलपरासी : नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज)का सबै ढोका खोलिएका हुन् ।
गण्डक ब्यारेजमा निर्माण गरिएका ढोका बन्द हुँदा विनयी त्रिवेणी–१ बगुबन क्षेत्र डुबानमा परेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको गण्डक ब्यारेजका सम्पर्क तथा भूआर्जन अधिकृत काशिनाथ हरिजनले जानकारी दिनुभयो । गण्डक क्षेत्रमा पानीको बहाव निरन्तर बढ्दै गएपछि ब्यारेजका सबै ढोका खोलिएको उहाँले बताउनुभयो । आज बिहान ७ः०० बजे गण्डक ब्यारेजमा पानीको बहाव चार लाख ४० हजार सात सय ५० क्युसेक मापन गरिएको अधिकृत हरिजनले बताउनुभयो ।
नदीमा शनिबार दिउँसोदेखि पानीको बहाव निरन्तर बढिरहेको छ । अधिकृत हरिजनका अनुसार शनिबार दिउँसो १२ बजे नदीमा पानीको बहाव एक लाख ६१ हजार क्युसेक थियो । त्यसपछि निरन्तर पानीको बहाब बढ्दो क्रममा छ ।
गण्डक ब्यारेजका सबै ढोका खोलिएपछि सिँचाइका लागि लगिएको नहरको ढोका बन्द गरिएको अधिकृत हरिजनले जानकारी दिनुभयो । गण्डक ब्यारेज निर्माण गर्ने बेलामा ब्यारेजको क्षमता नौ लाख क्युसेक भए पनि अहिले ब्यारेज पुरानो भएको कारण पानीको बहाव ६ लाख क्युसेकसम्म धान्न सक्ने बताइएको छ । ब्यारेजमा पानीको बहाव निरन्तर बढ्दो क्रममा छ ।
पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्ने खण्डमा रुख ढलेर सडक अवरुद्ध भएको छ ।
दाउन्ने पहाडको विश्वकर्मा मन्दिर नजिक माथिबाट रुख ढलेर सडक अवरुद्ध भएको जल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो । अवरुद्ध सडक खुल्न समय लाग्ने उहाँले बताउनुभयो ।
मेलम्चीको बाढीले बेलीब्रिज बगाउने जोखिम
सिन्धुपाल्चोक : लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ । बाढीले बेलीब्रिज रहेको भूभाग कटान गरिरहेको छ ।
२०७८ साल साउन १७ गते लेदोसहित आएको मेलम्चीको बाढीले हेलम्बुकै लाइफ लाइनका रूपमा रहेको रातो पुल बगाएपछि सो स्थानमा बेलीब्रिज निर्माण गरिएको थियो । रातो पुल बगाएको ७ महिनापछि सञ्चालनमा आएको बेलीब्रिज जोगाउने प्रयास भइरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो
सो पुलले हेलम्बुलाई मात्र नभई मेलम्ची नगरपालिका–७ र ८, पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ र २ का बासिन्दालाई आवतजावत गर्न सहज बनाएको छ । हेलम्बु–४ स्थित बस्ती र विद्यालयसमेत बाढीको जोखिममा रहेको स्थानीय श्याम लामिछानेले बताउनुभयो ।
कालीगण्डकी करिडोर ठप्प
बागलुङ : शनिबार बिहानैदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङखण्ड अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण करिडोरको चार ठाउँमा पहिरो खसेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक नै भत्काएको छ । वर्षा नरोकिएसम्म सडक सञ्चालन गर्न नसकिने उहाँको भनाइ छ ।
यस्तै, शनिबार बिहानैदेखि करिडोरको जैमिनी नगरपालिका–५ विनामारे, जैमिनी नगरपालिका–१ ठेउले खोला र जिमिरघाटमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द छ ।
-रासस
प्रतिक्रिया दिनुहोस