जुम्ला/ अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत कालीकोटको हुल्ममा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
सोही राजमार्गको कालीकोट तिलागुफा नगरपालिका–६ टिमुरे, गाल्जे र पिलिलगायतका ठाउँमा आएको बाढी पहिराले बन्द भएका सडक खुलाउने काम भइरहेको छ । साँझसम्म सडक सञ्चालनमा आउनेगरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले जानकारी दिनुभयो ।
प्रदेशका मुख्य ५ राजमार्ग कर्णाली, मध्यपहाडी, मदन भण्डारी, राप्ती राजमार्ग र भेरी करिडोरका सडक अवरुद्ध छन् । कर्णाली राजमार्गमा ४, मध्यपहाडीमा ४ र राप्ती राजमार्गम २, मदन भण्डारीमा १ र भेरी करिडोरका ३ ठाउँमा बाढीपहिराले सडक अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा पहिरो गएको छ । राजमार्गहरू अवरुद्ध भएपछि २ दिनदेखि यात्रु अलपत्र परेका छन् ।
-रासस
प्रतिक्रिया दिनुहोस