२५ भदौ २०८२ बुधबार | 10 Sep 2025 Wed

मौसम विभागले पठायो एकै दिन ३४ लाख एसएमएस



  • आफ्नै खबर
  • २३ असार २०८१ आईतबार (१ बर्ष अघि)
  • पाठक संख्या ११७
  • काठमाडौं/  जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा ३४ लाख एसएमएस सर्वसाधरणलाई सम्प्रेषण गरेको छ । विभागले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा शनिबार मध्याह्न १२ देखि आज १२ बजेसम्म देशका विभिन्न स्थानमा परेको वर्षासँगै बाढी तथा पहिरोसम्बन्धी जानकारी दिन ३४ लाख बढीलाई एसएमएस सम्प्रेषण गरेको हो ।

    विभागका प्रवक्ता सुनिल पोखरेलले बाढीबाट हुन सक्ने धनजनको क्षति न्यूनिकरण गर्ने लक्ष्यले जनचेतनाका लागि एकै दिनमा ३४ लाखको हाराहारीमा सर्वसाधरणलाई एसएमएस पठाएको जानकारी दिनुभयो । 

    ‘बाढीको जोखिम भएका क्षेत्र आसपासमा बस्ने सर्वसाधरणलाई सचेत गराउन हामीले एसएमएस पठाएका हौँ’, उहाँले भन्नुभयो, ’सर्वसाधारणको मोबाइलमा एसएसएस पठाएपछि जोखिममा परेका सुरक्षित स्थान जान सक्छन्, जोखिमयुक्त क्षेत्रमा आवतजावत गर्दा सचेतना अपनाउन सकिन्छ भनेर एसएमएस पठाउने गरेका छौँ ।’

    विभागका महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले यस वर्ष विभागले मनसुनजन्य घटना तथा जानकारीसम्बन्धी करिब ९० लाख एसएमएस सर्वसाधरणलाई पठाउने योजना बनाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रत्येक दिन बिहान ६ बजे र बेलुकी ६ बजे मौसमी बुलेटिन प्रकाशन गर्छौं, यसले तीन दिनसम्मको मौसमसम्बन्धी जानकारी दिन सहयोग गरेको छ ।’