ललितपुर/ ललितपुर महानगरपालिकाले जावालाखेलमा रहेको ऐतिहासिक धारा (जरुँहिटी) उत्खनन गरेको छ । महानगरले उद्यान निर्माण गर्नेक्रममा उत्खनन गर्दा भेटिएको धारालाई पुन निर्माण गरेर सञ्चालनमा समेत ल्याएको छ ।
महानगरपालिका र ताम्राकार समाजको सहकार्यमा परम्परागत रुपमा सो धारा पुनःनिर्माण गरिएको हो । उक्त धारा ४ सय वर्ष पुरानो रहेको ताम्राकार समाजका अध्यक्ष विनोद ताम्राकारले जानकारी दिनुभयो ।
उहाँका अनुसार हाल ललितपुर महानगरपालिका र समाजका सहकार्यमा निर्मित धारामा आरओ प्रविधिद्वारा प्रशोधित पिउने पानी स्वचालित रुपमा सञ्चालित छ । ललितपुर–४ का वडाध्यक्ष सन्तोष खड्काले ललितपुर–४ जावलाखेल मोसिख्योमा उद्यान निर्माण गर्नेक्रममा पुरातात्विक महत्व बोकेको ऐतिहासिक धाराको ढुङ्गा भेटिएपछि उत्खनन गरेर पुनः निर्माण गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘उत्खनन गर्नेक्रममा भेटिएको धारा (जरुँहिटी) ताम्राकार समाजसँग सम्बन्धित भएकाले आउने दिनहरुमा समाजले नै धाराको संरक्षण गर्नेछ ।’
महानगरले ऐतिहासिक सम्पदा संरक्षण र पुनःनिर्माण गर्नेक्रममा जरुँहिटीलाई पुनःस्थापना गरेकोमा आफू खुसी रहेको ललितपुर महानगरपालिका–४ जावलाखेलका स्थानीय रामकुमार पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुरानो सम्पदालाई संरक्षण गर्नु राम्रो हो । जरुँहिटी निर्माण गरेपछि बाटो हिँड्नेलाई तिर्खाएकोबेला प्रशोधित शुद्ध पानी पिउन सहज भएको छ ।’
-रासस
प्रतिक्रिया दिनुहोस