कञ्चनपुर/ कञ्चनपुरका बाढी प्रभावितलाई महाकाली प्रादेशिक अस्पतालले निःशुल्क उपचार गर्ने भएको छ । बाढीमा परेर घाइते र प्रभावित क्षेत्रका बिरामी नागरिकलाई अस्पतालले निःशुल्क उपचार गर्ने भएको हो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले स्वास्थ्य समस्या देखिए तत्काल अस्पतालमा ल्याई उपचारमा सहयोग गरिदिनसमेत आग्रह गर्नुभयो । अध्यक्ष भट्टले भन्नुभयो, ‘बाढीमा परेर चोटपटक वा बिरामी भएमा अस्पतालले निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ, हालसम्म ५ जनाको उपचार गरिसकेका छौँ, बिरामी आउनेक्रम जारी छ ।’
बाढी र डुबानका कारण कञ्चनपुरमा १ हजार १ सय १२ परिवारका ४ हजार ३ सय ६५ जना प्रभावित बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आज मौसममा सुधार आएपछि बाढी प्रभावित घर फर्किन थालेका छन् ।
दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बूले विद्यालयमा आश्रय लिएर बसेका बाढी प्रभावित घर फर्किन थालेको बताउनुभयो । ‘बस्तीमा पानी घट्न थालेपछि बाढी प्रभावित घर फर्किन थालेका छन्’, उहाँले भन्नुभयो, ‘प्रभावितका लागि खान बस्नको व्यवस्था नगरपालिकाले गरिरहेको छ ।’
बाढी प्रभावित क्षेत्रमा हाल सङ्क्रामक रोगको जोखिम बढेको छ । चिकित्सकहरूले यस्ता क्षेत्रमा शुद्घ पानी, खाना र सुरक्षित आवासको अभावमा विभिन्न रोगको प्रकोप देखिन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।
-रासस
प्रतिक्रिया दिनुहोस