२८ बैशाख २०८२ आईतबार | 11 May 2025 Sun

युवालाई स्वदेशमै रोक्न सीपमूलक तालिम



  • आफ्नै खबर
  • २७ असार २०८१ बुधबार (१० महिना अघि)
  • पाठक संख्या १२८
  • कास्की/  रोजगारीको खोजीमा युवा पलायन भइरहेका अवस्थामा पोखरा महानगरपालिकाले स्वरोजगार अभिवृद्धिलाई लक्षित गरी विभिन्न सीपमूलक तालिमलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

    महानगरपालिकाले चालू आर्थिक वर्षमा युवा लक्षित विभिन्न तालिमबाट हालसम्म ४ सय युवा लाभान्वित बनेका महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिनुुभयो । केन्द्रकै आयोजनामा हालै विभिन्न तालिम सम्पन्न भएको जानकारी दिँदै उहाँले त्यस अन्तर्गत १ महिने डिजिटल मार्केटिङ तालिममा ४० जना सहभागी भएकामा ६ जनाले रोजगारी समेत पाएको बताउनुुभयो । 

    महानगरबाट सञ्चालित ३६ दिने जुनियर ब्यूटिसियन तालिम २० जनाले लिएका छन् भने कफी बनाउने बरिस्टा तालिम ४० जनाले लिएका छन् । त्यस्तै कन्या क्याम्पस नदीपुरमा अध्ययनरत स्नातक तह प्रथम वर्षका २५ विद्यार्थीलाई सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत गुडिया तथा झोला बनाउने तालिम प्रदान गरिएको कार्यकारी अधिकृत अधिकारीले जानकारी दिनुुभयो । केन्द्रले २० जनालाई डेरी तथा मिठाइ बनाउने तालिम प्रदान गरेको छ भने बुटिक तालिम २० जनालाई दिइएको छ । 

    मन्टेश्वरीमा तालिम प्राप्त २० जनामध्ये ६ जनाले रोजगारी पाएका छन् । केन्द्रकै आयोजनामा पहिलो चरणमा कुक, हाते ट्याक्टर तथा मोटरसाइकल मर्मत, सामुदायिक पशु सहायकलगायत उद्यमशीलता अभिवृद्धिका विभिन्न तालिम प्रदान गरिएको छ । 

    केन्द्रले अघिल्लो आर्थिक वर्षसहित हालसम्म क्षमतामूलक र सीपमूलक गरी १ हजार ४ सय जनालाई तालिम प्रदान गरेको छ । व्यवसाय गर्न चाहने २ सय उद्यमीलाई बीउ पुँजीका रुपमा सहुलियतपूर्ण कर्जा प्रदान गरिएको कार्यकारी अधिकृत अधिकारीले बताउनुुभयो ।