काठमाडौं/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आयोजनामा संघीय सांसदहरुलाई वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रम संघीय संसदको सहकार्य एवं विफक्याब संस्थाको समन्वयमा भएको हो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चिरन्जीवी नेपाल र नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दाहालले सांसदहरुलाई वित्तीय साक्षरताको बारेमा स्रोत व्यक्तिको रुपमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले यस प्रकारका कार्यक्रमको आवश्यकता बढेको बताउँदै वित्तीय साक्षरतालाई विद्यालय तहको पाठ्यक्रममा राख्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले रावा बैंकको वर्तमान अवस्था एवं बैंकले अर्थतन्त्रमा गरेको योगदानको बारेमा प्रकाश पार्नु भएको थियो ।
राष्ट्र बैंकका पूर्व गभर्नर नेपालले वित्तीय नीति, मौद्रिक नीति तथा अन्य आर्थिक मुद्धाका बारेमा तथा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष दाहालले व्यक्तिगत वित्तपोषण र बजेटिङका बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा पैसाको महत्त्व, पैसाको आदर्शतम उपयोग, मुद्राको महत्त्व, ब्याजदर, बैंक, उत्पादन र रोजगारी बीचको सम्बन्ध लगायतका विषयमा संघीय सांसदहरुले जिज्ञासा राखेका थिए ।
उक्त कार्यक्रममा संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, उपसचिव नागेन्द्र चौधरी, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, विफक्याब संस्थाका प्रमुख मनोज रेग्मी लगायत कर्मचारीहरुको उपस्थिति रहेको बैंकले जनाएको छ । हाल बैंकले देशका ७७ वटै जिल्लामा २ सय ८८ शाखा कार्यालय, ३ सय ८ एटिएम र ७१ एक्स्टेन्सन काउण्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस