२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

११ महिनामा ५५ हजार बढी पर्यटक खुम्बुमा



  • आफ्नै खबर
  • २८ असार २०८१ बिहिबार (१० महिना अघि)
  • पाठक संख्या ८४
  • सोलुखुम्बु/  चालु आर्थिक वर्ष २०८०÷०८१ को ११ महिनामा ५५ हजार ९ सय ७९ जना पर्यटकले खुम्बुक्षेत्रको भ्रमण गरेका छन् । गत साउनदेखि यही जेठ मसान्तसम्ममा यी पर्यटकहरु भ्रमणका लागि खुम्बुक्षेत्र पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । 

    निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलका अनुसार भ्रमणका लागि पुगेका पर्यटकमध्ये ४८ हजार ४ सय २ जना विदेशी र ७ हजार ५ सय ७७ जना नेपाली छन् । यस वर्ष सबैभन्दा बढी वैशाखमा ९ हजार ९ सय ७६ जना र सबैभन्दा कम साउनमा २ सय ८ जनाले खुम्बुक्षेत्रको भ्रमण गरेको सूचना अधिकारी मण्डलले जानकारी दिनुभयो । वैशाख महिना मुख्य पर्यटकीय सिजन भएकाले पर्यटकको चाप देखिएको र साउन अफ सिजन भएकाले फाट्टफुट्ट मात्रै पर्यटक आएको उहाँको भनाइ छ । 

    चालु आवको ११ महिनामा पर्यटकबाट निकुञ्जले १३ करोड ६५ लाख ७ सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ । निकुञ्जले पर्यटक शुल्क बापत् नेपालीसँग १ सय, सार्क राष्ट्रका नागरिकसँग १ हजार ५ सय र अन्य विदेशीबाट प्रतिव्यक्ति ३ हजार रुपैयाँ लिने गरेको छ । उक्त अवधिमा ७ हजार ५ सय ७७ नेपाली, ६ हजार ३ सय ८ सार्क मुलुकका र ४२ हजार ९४ अन्य देशका पर्यटकले खुम्बु भ्रमण गरेको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

    -रासस