नुवाकोट/ विदुर नगरपालिकाले जेहेन्दार, गरिब तथा विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनको लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराएको छ । नगरको नीति तथा कार्यक्रम एंव बजेटमा उल्लेख भए अनुसार ‘मेयर छात्रवृत्ति’ कार्यक्रममार्फत १५ जना विद्यार्थीलाई प्राविधिक विषय अध्ययनको लागि आवश्यक सबै शुल्क छात्रवृत्तिस्वरुप उपलब्ध गराएको हो ।
तोकिएको कार्यविधिअनुसार हाल १५ जनाले पूर्ण छात्रवृत्तिमा पशु विज्ञान र बाली विज्ञान अध्ययन गरिरहेको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार ‘नगरका जेहेन्दार तथा गरिब स्थानीय बासिन्दा विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन छात्रवृत्ति प्रदान गर्ने’ सम्बन्धी कार्यविधि–२०७७ अनुसार छात्रवृत्ति रकम प्रदान गरिएको छ ।
उक्त कार्यक्रममार्फत अध्ययनरत तह अवधिभर लाग्ने सम्पूर्ण शुल्क नगरपालिकाले उपलब्ध गराउने विद्यार्थीसँग प्रतिवद्धता सम्झौता गरिएको छ । ‘नगरले उपलब्ध गराएको छात्रवृत्तिले विद्यार्थीलाई शुल्क तिर्नुपर्ने आर्थिक दायित्व हट्दै अध्ययनमा हौसला मिलेको छ’, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, ‘उत्पादित जनशक्तिले १ वर्ष पालिकामा नै सेवा गर्नुपर्न शर्तले पालिकाले आफ्नै लगानीमा उत्पादित जनशक्ति प्राप्त गर्नेछ । विद्यार्थीलाई अध्ययनपश्चात् रोजगारी सुनिश्चित भएको छ ।’
छात्रवृत्ति प्राप्त गरेका सबै विद्यार्थीले तीनवर्षे डिप्लो तहको अध्ययन विदुर–१ ढुङ्गेमा रहेको पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयबाट गरिरहेका छन् । उक्त शिक्षालयमा अध्ययनको लागि लाग्ने सम्पूर्ण शुल्कसरह हुन आउने रकम नगरपालिकाले छात्रवृत्तिमार्फत उपलब्ध गराएको उपप्रमुख प्रभा बोगटीले जानकारी दिनुभयो ।
उहाँको अनुसार यो शैक्षिक सत्रमा उक्त शिक्षालयका पहिलो ब्याजका छ जना विद्यार्थीलाई (दोस्रो र तेस्रो शैक्षिक सत्रको शुल्कबापत ३ लाख ३० हजार रुपैयाँ र दोस्रो ब्याजका ९ जना विद्यार्थीलाई पहिलो र दोस्रो शैक्षिक सत्रको शुल्कबापत ३ लाख ७८ हजार रुपैयाँ प्रदान गरिएको छ ।
‘जेहेन्दार तथा गरिब विद्यार्थीलाई शिक्षा प्रदान गर्न र त्यसमा पनि प्राविधिक शिक्षामा पहुँच बढाउन उक्त कार्यक्रम निकै प्रभावकारी भएको छ ।’ उपप्रमुख बोगटीले भन्नुभयो, ‘नगरपालिकाको छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीले अध्ययन पूरा गरेपछि नगरपालिकाले खटाएको स्थानमा पाँचाँै तहको कर्मचारीले पाउने सुरु तलब स्केलमा सेवा गर्ने प्रतिवद्ध गरिएको हुँदा पालिकाले दक्ष जनशक्ति पाउने छ ।’
विदुर नगरपालिकाले ‘मेयर छात्रवृत्ति’ कार्यक्रममार्फत प्राविधिक विषयमा तीनवर्षे डिप्लोमा तह र प्राविधिक उच्च शिक्षाअन्तर्गत चिकित्सक, इञ्जिनियर, पशु चिकित्सक, वनविज्ञान अध्ययनको लागिसमेत पूर्ण छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ । तोकिएको कार्यविधिअनुसार उच्च प्राविधिक शिक्षा अध्ययनको लागि भने छात्रवृत्ति माग नआएको जनाएको छ ।
-रासस
प्रतिक्रिया दिनुहोस