१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

१ अर्बको लगानीमा चिस्यान केन्द्र बन्ने



  • आफ्नै खबर
  • २८ असार २०८१ बिहिबार (५ महिना अघि)
  • पाठक संख्या ६४
  • चितवन/  चितवनमा १ अर्ब रुपैयाँ लगानीमा चिस्यान केन्द्र निर्माण गरिँदै छ । उद्यमीद्वय उमेश श्रेष्ठ र मीनबहादुर गुरुङको लगानीमा चिस्यान केन्द्र निर्माण हु्न लागेको हो । 

    आज शिलान्यास गरिएको चिस्यान केन्द्र रत्ननगर नगरपालिका–४ को पूर्वपश्चिम राजमार्गसँग जोडिएको ७ बिघा जमिनमा सुपर मार्केटसहितको ‘मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर’ निर्माण गर्न लागिएको हो । उद्यमी श्रेष्ठले १ वर्षभित्र चिस्यान केन्द्र निर्माण गरिने बताउनुभयो । 

    उपजलाई छुट्टाछुट्टै च्याम्बर र तापक्रममा राखिने उहाँले जानकारी दिनुभयो । ‘कृषि उपज १ वर्षसम्म  शीतभण्डारमा राख्न सकिनेछ’, उद्यमी श्रेष्ठले भन्नुभयो । यहाँ भण्डारण गरिएका कृषि उपज भाटभटेनीसँगै आवश्यकतानुसार अन्य स्टोरमार्फत बजारमा पठाइने छ । 

    उद्यमी श्रेष्ठले भन्नुभयो, ‘अब मूल्य नपाएर कृषि उपज सस्तोमा बिक्री गर्नु पर्दैन ।’ उत्पादन खेर जाने समस्या उहाँ आफैँले भोगेकाले शीतभण्डारलाई प्राथमिकता दिएको उहाँको भनाइ छ । किसानलाई प्रेरित गरेर त्यहाँ उत्पादित वस्तु खरिद गरी ग्रेडिङ, लेबलिङ र प्याकिङ गरेर भण्डारण गरी आवश्यकतानुसार बजार पठाउने उहाँको लक्ष्य छ ।

    उद्यमी गुरुङले चितवनसँगै जनकपुर, भैरहवा, नेपालगञ्ज र इटहरीमा पनि १० हजार मेट्रिक टन क्षमताका शीतभण्डार निर्माण गर्ने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चितवनमा सम्पन्न भएपछि अन्य ठाउँमा शीतभण्डार निर्माण गरिनेछ ।’

    रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटा र रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर गिरीले शीतभण्डार निर्माणबाट चितवनको कृषि क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो । शीतभण्डार निर्माणपछि उत्पादन सडेर जाने अवस्था अन्त्य हुने उहाँहरुको भनाइ थियो ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?