भक्तपुर/ सूर्यविनायकमा रहेको नेपाली सेनाको श्री इन्द्र बक्स गणमा ९ महिनाको नेपाली सेनाको तालिम सम्पन्न गरेका सिसं ४ का १०१ जना किशोरी बिहीबार दीक्षित भएका छन् ।
आज गणमा आयोजित दिक्षान्त समारोहमा नेपाली सेनाको १ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी ध्रुवकुमार कार्कीले समारोहमा तालिम सम्पन्न गरेको सेनाका जवानको कवाज प्रदर्शन निरीक्षण गर्नुका साथै उत्कृष्ट सेनाका जवानहरुलाई पुरस्कार एवं प्रमाणपत्र सहित सम्मान गर्नुभयो ।
नेपाली सेना बलियो भए देश बलियो हुने बताउँदै उहाँले भन्नुभयो, ‘राष्ट्रको मेरुदण्ड नेपाली सेना हो, सेनाको मेरुदण्ड सिपाही हो । सिपाही बलियो भए सेना बलियो हुन्छ, सेना बलियो भए देश बलियो हुन्छ ।’
नेपाली सेनाको तालिम पुरा गरेर आजबाट पूर्ण रुपमा राष्ट्रको सेवामा लाग्न अग्रसर नेपाली सेना राष्ट्र, जनता र संस्थाप्रति इमान्दार कर्मठ भएर कार्य गर्न निर्देशन दिँदै उहाँले आफ्नो काँधमा आएको जिम्मेवारी पूरा गर्ने क्रममा देशले माग्दा ज्यानको समेत आहुति दिन सक्ने संकल्प बोकेर अगाडि बढेको बताउनुभयो ।
भविष्यमा आउन सक्ने कुनै पनि चुनौतीको सामना गर्ने अठोट बोकेर अगाडि बढ्नु पर्नेमा जोड दिँदै उहाँले राष्ट्रियता, स्वतन्त्रता, अखण्डता, भौगोलिकताको रक्षाका लागि नेपाली सेना सधै लाग्ने बताउनुभयो ।
समारोहमा तालिम अबधीभर प्रथम हुने रोजिना कार्कीलाई सहायकरथि ध्रुकुमार कार्कीले पुरस्कार स्वरुप खुकुरी र सम्मान पत्र प्रदान गर्नुभयो । त्यसैगरी तालिम अवधिभर दौडमा प्रथम हुने गीताकुमार खड्का, ड्रिलमा प्रथम हुने प्रतिक्षा भुजेल, फाइरिङ्मा प्रथम हुने इन्द्रकुमारी खड्का, पुष्पाकुमारी बुढा र सञ्चिता नेपालीलाई सम्मान पत्र प्रदान गर्नुभयो ।
तालिममा श्री इन्द्र बक्स गणका गणपति एवं प्रमुख सेनानी मोहनकुमार थापाले सिंस ४ का १ सय १ जना किशोरीहरुले तालिम पुरा गरेर आज दीक्षित भएको बताउनुभयो । उहाँले अहिलेसम्म गणले सिं. १०१ देखि १०४ सम्म नेपाली सेनाको तालिम पुरा गरेर देशभक्त कर्मठ सेनाहरु तयार पारेको बताउदै नयाँ भर्ना भएका सेनालाई पनि तालिम दिने तयारीमा रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस