२५ भदौ २०८२ बुधबार | 10 Sep 2025 Wed

ग्लोबल आइएमईको निक्षेप ५ खर्ब नाघ्यो



  • आफ्नै खबर
  • २७ असार २०८१ बिहिबार (१ बर्ष अघि)
  • पाठक संख्या १०६
  • काठमाडौं/  ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । 

    यसले ग्लोबल आइएमई बैंकको नेतृत्व, व्यवस्थापन, ब्राण्ड, वित्तीय अवस्था र सेवाप्रति आम ग्राहकवर्गको विश्वासलाई उजागर गरेको बैंकले दावी गरेको छ । 

    नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैंकहरुको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ । बढ्दो वित्तीय समावेशीकरण, आर्थिक गतिविधि र विप्रेषण प्रवाहका कारण बैंकहरुमा निक्षेप बढेको हो । 

    ग्लोबल आइएमई बैंक निक्षेपका साथसाथै धेरै सूचकहरुमा अन्य बैंक तथा वित्तीय संस्थाहरुभन्दा अगाडि रहेको बैंकले जनाएको छ । वाणिज्य बैंकहरुको कुल निक्षेपसँग तुलना गर्दा ग्लोबल आइएमई बैंकको निक्षेप तर्फको बजार हिस्सा ८.८३ प्रतिशत हाराहारी रहेको जनाइएको छ ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले ग्राहकहरू र सरोकारवालाहरूप्रति कृतज्ञता व्यक्त गर्दै ग्लोबल आइएमई बैंकको ५ खर्ब रुपैयाँ भन्दा बढि निक्षेप हुने विषय यस बैंकको मात्र सफलताको प्रतिबिम्ब नभई, नेपालको बैंकिङ क्षेत्रको बढ्दो विस्तार र गतिशीलताको संकेत रहेको बताउनुभयो ।

    ‘निक्षेप रकम ५ खर्ब रुपैयाँ पुग्नु हाम्रो लागि एक उल्लेखनीय उपलब्धि हो । यो उपलब्धि हामीले उत्कृष्ट बैंकिङ सेवाहरू प्रदान गर्दै हाम्रा ग्राहकहरूसँग सुमधुर सम्बन्ध स्थापना गर्न सफल रहेको प्रमाण हो । यसले हामीलाई भविष्यमा बैंकिङ्ग क्षेत्रमा थप नयाँनयाँ प्रविधिहरु भित्र्याउँदै सबैका लागि उत्कृष्ट र विश्वासनीय बैंकिङ्ग सेवाहरु प्रदान गर्न थप प्रेरणा दिनेछ’, उहाँले भन्नुभयो, ‘हामीले यो उपलब्धीलाई हाम्रो बैंकको मात्र नभई समग्र नेपाली बैंकिङ्ग क्षेत्रको उपलब्धीको रुपमा लिएका छौँ ।’

    बैंकले हाल देशका ७७ वटै जिल्लामा कुल ३ सय ५४ शाखा, ३ सय ८४ एटीएम, २ सय ७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।