चितवन/ नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले २ वटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ ।
घटनास्थलमा पुग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् ।
प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उहाँले भन्नुभयो, ‘हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।’
गोताखोर परिचालन
पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका २ वटा बस अझैसम्म फेला पार्न सकिएको छैन ।
त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको जनाइएको छ । अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले डुङ्गामा खोजी थालेका छन् । हालसम्म बस फेला पर्न नसकेको प्रजिअ यादवले जानकारी दिनुभयो ।
-रासस
प्रतिक्रिया दिनुहोस